|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छिन्। 

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्ष तर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन्। 

उनले त्यसबेला आफूले समानुपातिक तर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्ष तर्फको निर्वाचनमा लडने तयारी गर्न पनि आग्रह गरिन्।

‘म ६० वर्ष पुगेँ। १६ वर्ष हुँदा म ललितपुर आएको हुँ। ४४ वर्ष भयो यहाँ बसेको। म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ। अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अव उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्।’ उनले भनिन्, ‘मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ। राष्ट्रियसभा पनि छ। अरु राजनीतिक मोर्चाहरु पनि छन्। पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु। अब मलाई अर्को पटक उठ्ने रहर छैन। यो अन्तिम पटक हो प्रत्यक्षमा।’

मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी समेत गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.