|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे।

उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकिर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए। उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद् र निर्वाचनको अर्थ के हो? भन्दै प्रश्नसमेत गरे।

अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए।

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे। उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए।

उनले यतिबेला देशविरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए। उनले अफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र  काठमाडौंमा पुनर्निर्माण गरिएको धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे।

उनले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.