|

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार गरिएको छ। देउवा आउने भएपछि अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्टाखुल्टी पूरेको हो।

बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई बिहीबार देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको सवारी चालक जगदीश सार्की बताउँछन्।

‘खाल्टाखुल्टी पुर्दा हामीलाई सहज त भएको छ। तर, लामो समयसम्म राम्रो बसपार्क नहुँदा हामीले समस्या भोगेका छौं। भोलि प्रधानमन्त्रीज्यू आउँदै छन्। सोही भएर मर्मत सम्भार गरिनु हामी जनताको आँखामा छारो हाल्ने काम हो,’ उनले भने।

सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारीसाधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ।

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा बसपार्क नबनाउनु र तिनै देउवा डडेल्धुरा आउँदा बसपार्कमा टालाटुली हालेर जनतामा भ्रम फैलाउने काम भएको स्थानीय सुरत तमोलीले बताए। उनले देउवाले ३१ वर्षदेखि बसपार्क बनाउन नसक्नु दुःखद भएको उनको भनाइ छ।

डडेल्धुराबाट छैटौं पटक चुनाव जितेर सातौं पटक चुनाव जित्ने दौडमा रहेका देउवाका चुनावी सभादेखि विभिन्न कार्यक्रमहरू यहीँ बस पार्कमा हुने गरेका छन्। अहिले पुरेको माटोले बसपार्क क्षेत्र धुलाम्मे हुने भन्दै नागरिक चिन्तित छन्।

तर, यता अमरगढी नगरपालिकाले भने प्रधानमन्त्री आउने भएर मात्रै मर्मत सम्भार नगरेको जिकिर गरेको छ। बसपार्क र सवारी चालकलाई मध्यनजर गर्दै काम भइरहेको नगरपालिकाले जनाएको छ। देउवा आउनु र बसपार्क मर्मत सम्भार गरिनु संयोग मात्रै भएको अमरगढी नगरपालिकाका एक कर्मचारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.