|

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन्। चुनावी देश दौडाहाको सुरुवात गर्न ओली  सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी आउने भएका हुन्। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। 

उनका अनुसार ओली बिहीबार साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए। एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ। 

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए। अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रूपमा उठाउने पनि उनले बताए। 

‘ओली सरकारकै बेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली नक्सामा राखिएको थियो,’  उनले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपाnलाई फिर्ता गर्नुपर्छ। अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ।’ एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने पाठकको जिकिर छ। 

दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। यस्तै भोलि नै  दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्नेछन्।

दार्चुलाको खुलामञ्च चिटिक्क पारियो

एमाले दार्चुलाले राष्ट्रव्यापी चुनावी अभियान अन्तर्गत पहिलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। अध्यक्ष ओली आउने कार्यक्रमको तयारी झण्डै पूरा भइसकेको प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए। उनका अनुसार ओलीको दार्चुला भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गरेको छ। कार्यक्रमस्थल सजाउने काम सकिएको र तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। खलंगामा हुने चुनावी सभामा एमालेले जिल्लाभरिका मानिस भेला उनको दाबी छ। 

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि ओलीको दार्चुला भ्रमण हुन लागेको हो। यसअघि ओली ०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए। ९ वर्षपछि पुनः ओली दार्चुला जान लागेका हुन्। यसअघि ओली ०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.