|

काठमाडौं : उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ। 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताएका छन्।

उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।  अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए। 

दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए। उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो। प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन्।

सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालिस्टिक मिसाइल खसेको यो पहिलो पटक हो। दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जबाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ। 

सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रामक र उत्तेजित’ बताउँदै आएको छ। अभ्यासको अमेरिकाले पनि बचाउ गरेको छ। मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए। 

प्योङयाङले संयुक्त सैन्य अभ्यास जारी राखे अमेरिका र दक्षिण कोरियाले  ‘इतिहासको सबैभन्दा भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.