|
फाइल

काठमाडौं :  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन। बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देश व्यापी रुपमा विरोध प्रदर्शन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए। उनले दलालहरूले जित्ने चुनावले जनताको अधिकार सुनिश्चत नहुने भएकाले त्यसको विरोधमा आफूहरूले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको बताए।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरूले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए। उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ। पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरूबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरूले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गरे।

तीन वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनगढीमा कात्तिक ३० गते विरोध प्रदर्शन र कोणसभा आयोजना गरेका छन्। सो कार्यक्रम स्थानीय स्तरमा पनि आवश्यकताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.