|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।

खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।

जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँदा अर्जुन घर्तीले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले ११/११ रन बनाएका थिए।

आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३७ रन बनाउँदा कुशल मल्ल र रोहित पौडेलले ३५/३५ रन जोडे। हरि चौहानले ३१ रन हिर्काउँदा अर्जुन साउदले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा राजेश पुलामी २८ रनमा अविजित रहँदा अनिल मण्डल १७ रनमा आउट भए।

कर्णालीका प्रकाश जैशीले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ विकेट हात पारे।

जितसँगै आर्मीले समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो। आर्मीले ४ खेलमा ६ अंक जोड्न सफल रह्यो।

यो  समूहबाट एपिएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरिसकेको छ। आर्मीको जितले गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ। कर्णाली पनि अंकविहीन रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.