|

धनकुटा : जिल्लाको नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी सुरु भएको छ। आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी कार्तिक पूर्णिमामा सुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। 

यो जातिको तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ। चाडको सुरुवातमा धनकुटावाट हिँड्दै दुई दिन लगाएर सुनसरीको बराहक्षेत्र पुग्छन्।

स्थानीय कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगवानको दर्शन गर्ने र देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहेको धनकुटा नगरपालिकाका दिनेश आठपहरियाले बताए।

घर आएपछि दुःखको कर्म फुकाउने कार्य हुन्छ। यससँगै भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ। यो चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ। 

धनकुटा नगरपालिकामा पाँच हजारको हाराहारीमा यो जातिको बसोबास रहेको अनुमान छ। आठपहरिया जातिको चाडको अवसरमा धनकुटा नगरपालिकाले मंगलबार र बुधबार नगर क्षेत्रमा सार्वजनिक विदा दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.