काठमाडौं : अन्तिम ४ मा स्थान बनाएको मधेश प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले। ओपनर प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाउँदै एपिएफलाई सुखद् शुरुवात दिलाएका थिए। सुमित महर्जनले १३ रन बनाउँए भने सन्दीप जोरा ६ रनमा अविजित रहे।
मधेशका रुपेश सिंहले २ र राजेश यादवले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३५ रन जोडे। सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए। अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए।
मधेशको इनिङलाई सस्तैमा समेट्ने क्रममा एपिएफका कमल ऐरीले ४ विकेट लिए। भुवन कार्की र मौसम ढकालले २/२ विकेट लिए।
फाइनल प्रवेश गरेको एपिएफले अब उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ।
फाइनल खेल शनिबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।