|

काठमाडौं : नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।

टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न प्रकारका क्यान्सरको उपचार गराइरहेका बिरामीले भारतको औषधी निकायको स्वीकृतिमा टिजिग फर्माबाट उत्पादित क्यान्सरको औषधी प्रयोग गरिरहेको बताए। निकट भविष्यमा औषधी अफ्रिकी देशमा पनि निर्यात गर्ने तयारी भइरहेको उनले बताए।

क्यान्सरको औषधि उत्पादनमा विशेष पहिचान भएको भारतको हैदराबादस्थित एसपी एक्युर ल्याबको प्रविधि हस्तान्तरणबाट डेढ वर्षअघि सञ्चालनमा आएको टिजिगले क्यान्सरका औषधि उत्पादन गरी बजारमा पठाउन थालेको करिब १० महिना भएको छ।

औषधि व्यवस्था विभागबाट अनुमति लिएर दर्जनभन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको टिजिगले विदेश निर्यात गर्ने अनुमतिसमेत पाइसकेको छ।

छोटो अवधिमा टिजिगले क्यान्सरका १६ किसिमका औषधि विदेश निर्यात गर्ने तयारी गरिरहेको छ। टिजिगका कार्यकारी निर्देशक वैद्यले ९ प्रकारका मोलेक्युलबाट निर्मित १६ किसिमका औषधी विदेश निर्यात गर्न लागेको बताए।

यी औषधी नेपालमा तत्काल उपलब्ध भने छैनन्। औषधी व्यवस्था विभागले हाललाई विदेश निर्यातका लागि मात्र अनुमति दिएको छ।

टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तिष्क, ठूलो आन्द्रामा हुने क्यान्सरविरुद्धका औषधि उत्पादन गरिरहेको छ। नेपाली बजारमा ३४ प्रकारका मोलेक्युलबाट उत्पादन हुने ५३ किसिमका क्यान्सरका खाने औषधि उत्पादन गर्ने अनुमति पाएको छ।

यीमध्ये १४ प्रकारका मोलेक्युलबाट उत्पादित २३ किसिमका औषधिको बिक्री वितरणको अनुमति औषधि व्यवस्था विभागले दिइसकेको छ। नेपालमा भने हाल ५ प्रकारको मोलेक्युलका ७ किसिमका औषधि मात्र बिक्री वितरण गर्न पाइन्छ। नेपालमा बिक्री बढाउँदै लैजाने योजना कम्पनीले बनाएको उनले बताए।

नेपालमा प्रति वर्ष क्यान्सरका २० हजारभन्दा बढी बिरामी थपिने गरेका छन्। एक वर्षमा १३ हजार बिरामीको मृत्यु हुने गरेको छ। बाँकी ६ देखि ७ हजारको भने आयु भने औषधिले लम्ब्याइरहेको तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.