|

काठमाडौं : बंगलादेशमा सम्पन्न यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि नेपाल च्याम्पियन बनेको हो। 

प्रतियोगितामा नेपालले ४ खेलबाट १० अंक जोड्दै च्याम्पियन बन्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेतामा सीमित हुँदा भुटान अंकविहीन रहँदै घर फर्कियो। 

नेपाली महिला फुटबलले उमेर समूहमा जितेको यो पहिलो अन्तरराष्ट्रिय उपाधि हो। यसअघि नेपाली महिला टोलीले कुनै पनि उमेर समूहमा अन्तरराष्ट्रिय उपाधि जित्न सकेका थिएन। 

रोमानञ्चक खेलमा गोलरक्षक तथा कप्तान सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एउटा पेनाल्टी जोगाएर नेपाललाई च्याम्पियन बनाइन्। 

बंगलादेशविरुद्ध नेपालले १४ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता बनाएको थियो। सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

तर खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन्।

त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई नेपाली गोलरक्षक सुजताले उत्कृष्ट बचाउ गर्दै टिमको पहिलो अन्तरराष्ट्रिय उपाधि पक्का गरिन्।​

च्याम्पियनशिपअन्तर्गत यसअघिको पहिलो खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको थियो  भने भुटानलाई ७-० को विशाल अन्तरले हराएको थियो।

दोस्रो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो। ​बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८-०  र दोस्रो खेलमा ९-० को जित निकालेको थियो।

प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश गरी ३ देश सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.