पर्यटन व्यवसायी भन्छन् : सिनो खाएर प्राण धान्न बाध्य छन्

|

म्याग्दी : धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने  धौलागिरि हिमालको आधार शिविरमा ३९ दिनदेखि २ वटा घोडा अलपत्र अवस्थामा छन्। 

हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेका ४५ घोडाखच्चड असोज १७ गते हिउँले पुरिएर मरेका थिए। ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका दुई घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन। 

भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडा खच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किएका पर्यटन व्यसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। ‘खान नपाएर र चिसोले गर्दा मर्ने अवस्थामा छन्। घोडालाई ल्याउने प्रयास गरिए पनि हिउँका कारण समस्या भएको छ’, उनले भने। आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरे पनि त्यो पर्याप्त नभएको उनले बताए।​

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनी र सांग्रिला ट्रेकिङ कम्पनीका सामान लिन गएका घोडाखच्चड मरेका थिए । 

दशैँमा भीषण हिमपातले अलपत्र भरिया र पर्यटकलाई उद्धार गरिए पनि घोडाखच्चड अलपत्र परेपछि आहारको अभावमा केही भोकभोकै मरेर अहिले २ वटा बाँकी रहेको पर्यटन पथप्रदर्शक बताउँछन्।

अलपत्र अवस्थामा रहेका घोडाको उद्धार गर्न सम्बन्धित ट्रेकिङ कम्पनीले समेत चासो देखाएको छैन। पशु अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था र अधिकारकर्मीको नजरमा समेत धौलागिरी आधार शिविरमारहेका जीवित घोडामा नजर पुग्न सकेको छैन।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.