|

काठमाडौं :  पश्चिमी वायुको असरले अबको २/३ दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन्।

'पश्चिमी वायुका कारण भोलि सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नुका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ', उनले भनिन्।

आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हलुका वर्षा हुनुका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हलुका हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताइन्।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश १ को पहाडी भेगका १/२ स्थानमा हलुका वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हलुका हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना छ।

भोलि सोमबार पनि प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हलुका हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.