|

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। 

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका उनले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती दिएका छन्। 

उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए। ओलीले अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँद‌ै मुलुक बनाउन एमाले जस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्ने बताए। 

ओलीले प्रचण्डको संगतमा रहेर देउवाले ‘बन्दुके’ भाषा बोल्ने थालेको आरोप बताए। उनले वार्ताका माध्यमबाट नेपाली भूमि फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जनाए। उनले मुलुकको समृद्धिका लागि दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए। 

ओलीले एमालेले अहिलेको अवधिसम्म जनहितविपरीत काम नगरेको र नगर्ने बताए। उनले एमालेले भोटका लागि जनता अलमल्याउने काम नगर्ने बताए । ओलीले आफू सरकारमा हुँदा गरेका राम्रा काम देखेर विभिन्न बहानामा आफूलाई सरकारबाट हटाएको बताए। 

उनले एमाले एकताबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी पनि गरे। उनले विकास अभियान अघि बढाउन मंसिर ४ मा एमालेको सूर्य चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.