सन्दर्भ : विश्व मधुमेह दिवस

|

काठमाडौं : एक निजी कम्पनीमा काम गर्ने ३२​ वर्षीय रमेश शर्मा (परिवर्तित नाम) दुई वर्षदेखि नियमित मधुमेहको औषधी सेवन गरिरहेका छन्। परिवारमा अहिलेसम्म कसैलाई नभएको मधुमेह ३० वर्षकै उमेरमा उनमा देखियो।

नियमितरूपमा चिकित्सकको निगरानीमा रहेर औषधी खाइरहेका उनलाई चिकित्सकले खानपान र जीवनशैलीकै कारण कम उमेरमा नै मधुमेह देखिएपछि औषधी सेवनसँगै जीवनशैलीमा समेत ध्यान दिन सुझाव दिएका छन्।

रमेश मात्रै होइन पछिल्लो समय धेरै युवामा मधुमेह देखिन थालेकाे बताउँछन्, ललितपुरस्थित आरुस लाइफस्टाइल अस्पतालका मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य। बदलिएको जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपन, असन्तुलित खानपान, मदिरा सेवन, धूमपान र तनावजस्ता कारणले पछिल्लो समय २५/३० वर्षको उमेरमा नै मधुमेह देखिने गरेको उनी बताउँछन्। ‘युवा उमेरमा नै मधुमेह देखिनुको मुख्य कारण त निष्क्रिय जीवनशैली, जंक फुड सेवन र मोटोपन नै हो’, डा शाक्यले भने।

नेपालमा शहरी क्षेत्रमा १५ प्रतिशत मधुमेहका बिरामी

नेपालमा हाल आधिकारिक रूपमा कति युवामा मधुमेह छ भन्ने यकिन तथ्यांक नभए पनि अस्पतालमा आउने बिरामीको आधारमा हेर्दा शहरी भेगका धेरै ‘टाइप टु’ मधुमेहबाट पीडित छन्।  ग्रामीण भेगका युवामा भन्दा शहरिया युवाले क्यालोरीयुक्त र जंक फूड धेरै सेवन गर्ने तर शारीरिक अभ्यास कम गर्ने भएकाले मधुमेह धेरै देखिने गरेको हो। यस्तै, युवा अवस्थामा करियर र अन्य कारणले आफूलाई धेरै तनावमा राख्नु पनि मधुमेह देखिनु अर्को मुख्य कारण हो।

हाल नेपालमा शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रमिण क्षेत्रमा पाँच प्रतिशत मात्रै मधुमेहका बिरामी रहेको र शहरी क्षेत्रमा मधुमेहका बिरामी बढ्नु मुख्य कारण नै खानपान र जीवनशैली भएको बताउँछन्,मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा अमित शाक्य। ‘केहीमा मधुमेह वंशाणुगत हुने भए पनि कम उमेरमानै मधुमेह देखिनुको मुख्य कारण खानपान नै हो’, उनले भने, ‘जंक फूड धेरै खाने र शारीरिक व्यायाम कम गर्न कारण यस्तो भएको हो।’

बालबालिकामा पनि टाइप २ मधुमेह देखिनेक्रम बढ्दो

बालबालिका टाइप वान मधुमेह देखिने भए पनि पछिल्लो समय ८/९ वर्षका बालबालिकामा पनि टाइप टू देखिन थालेकोनर्भिक इन्टरनेसनल अस्पतालकी मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा दिना श्रेष्ठ बताउँछिन्। ‘युवामा धेरै टाइप टू मधुमेह हुने भए पनि बालबालिकामा उनीहरूको शारिरिक बनावटले नै टाइप वान मधुमेह धेरै हुन्छ’,डा श्रेष्ठले भनिन्, ‘तर पछिल्लो समय अभिभावकले बालबालिकामा पनि जंक फूल धेरै खुवाउने गर्दा उमेर अनुसार भन्दा तौल धेरै हुने र बालबालिकामा पनि टाइप टू मधुमेह देखिने गरेको छ।

सन् १९९१ देखि विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिएको छ। हाल विश्वमा २० देखि ७९ वर्ष उमेर समूहका  ५३७ मलियनमा मधुमेह देखिएको छ। यो संख्या बढेर सन् २०३० सम्ममा ६४३ मिलियन पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक १० व्यक्तिमध्ये एकमा मधुमेह देखिने गरेको छ।

युवा अवस्थामै मधुमेहबाट बच्न के गर्ने?

यो रोग विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएको, व्यायाम नगर्ने व्यक्ति जोखिममा रहने डा. दिना श्रेष्ठको भनाइ छ। ‘युवा अवस्थामा नै मधुमेहको जोखिमबाट जोगिन मोटोपन नदिने, शारिरिक व्यायाममा ध्यान दिने र तनावमुक्त हुनुपर्छ’, डा श्रेष्ठले भनिन्।

 मधुमेह भएकाले कस्तो खानेकुरा खाने?

मधुमेह भएका मानिसलेहरुले सादा खाना खानुपर्छ। लामो समयसम्म उपवास बस्नु हुँदैन। सकेसम्म छिटोछिटो खाने कुरा खाइरहनुपर्छ। यसका साथै हरिया सागसब्जी, दूध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा खानुपर्छ। रातो मासु र तेलमा तारेका खानेकुरा पनि खानु हुँदैन। ‘मधुमेहका धेरै बिरामीले धेरै खानेकुरा खान हुँदैन भनेर नखाने बानी छ तर मधुमेहका बिरामीले सबै खानेकुरा खान हुन्छ तर सन्तुलितरूपमा’ डा श्रेष्ठले भनिन।

मधुमेहले मुटु, मिर्गौला, आँखा, मस्तिष्क र छालालाई समेत संक्रमण गर्ने भएकाले लामो समयसम्म औषधी सेवन गरेकाहरूले वेलावेलामा डाक्टरसँग जाँच गराउनुपर्छ।

के हो मधुमेह?

रगतमा चिनीको मात्रा धेरै हुनुनै मधुमेह (डाइबिटिज) हो। ग्रन्थीमा हुने कोषहरूले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्याङ्क्रियाज कम उत्पादन भए या उत्पादन भएको इन्सुलिनले काम गरेन भने शरीरमा ग्लुकोजको मात्रा बढ्ने हुँदा यसले रगतमा चिनीको मात्रा बढ्छ।  यदि बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने चिनीको मात्रा बढेको मानिन्छ। १०० देखि १२६ मिलिग्रामको बिचमा देखियो भने मधुमेह लाग्ने सम्भावना धेरै हुन्छ। यस्तो परिस्थितिमा चाँडै नै डाक्टरकोमा जानुपर्छ।

मधुमेह खासगरी दुई प्रकारको हुन्छ। टाइप वान र टाइप टु। टाइप वान भनेको इन्सुलिनमा भर पर्ने मधुमेह हो। शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि यो रोग लाग्छ। यो प्रकारको मधुमेह धेरै बालबालिकामा देखिन्छ।

यसको उपचार भनेको इन्सुलिन सुइको प्रयोग र उचित खानपिन नै हो। नियमित व्यायाम यसको अर्को उपचार विधि हो। त्यस्तै, टाइप टु इन्सुलिनमा भर नपर्ने खालको मधुमेह हो। यसमा प्याङ्क्रियाजले इन्सुलिनको उत्पादन गरे पनि त्यो शरीरका लागि चाहिने मात्रामा हुँदैन। प्याङ्क्रियाजले उत्पादन गरेको इन्सुलिनले राम्ररी काम गरेन भने यो खालको मधुमेह लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.