|

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन संविधानका रक्षक र भक्षकका बीचमा हुन लागेको जनमत संग्रह भएको बताएका छन्।

गोरखाको शहीद लखन गाउँपालिकामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनले संविधानको रक्षा गर्न चाहने एउटा पक्ष र संविधानलाई उल्ट्याउने अर्को पक्षबीच मतदान हुन लागेको बताए।

‘संविधानका रक्षक र भक्षकको बीचमा जनमत संग्रह हो यो निर्वाचन। लोकतन्त्र, शान्ति, अमनचयनका लागि गोरखाका नागरिकले फेरि पनि देशका लागि उदाहरण प्रस्तुत गर्ने छन्,’ उनले भने, ‘संविधानको रक्षा गर्न चाहने र संविधानलाई उल्ट्याउने पक्षको बीचमा चुनाव हुँदै छ। ती नेताले भोट माग्दै गर्दा दुई तिहाइको सरकार ढलाउने र संविधान च्यातेको हैसियतले कसरी भोट दिने?’

२०७२ सालमा संविधान जारी भएपछि देशमा राजनीतिक दुर्घटना नहुने र ठूला राजनीतिक आन्दोलन गर्न नपर्ने सोचेको भए पनि केपी ओली नेतृत्वको सरकारले ७० वर्ष लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस गरेको प्रचण्डको आरोप छ।

जनताको रगतको बलमा ल्याएको संविधानलाई च्यात्ने र उल्टाउने दुस्साहस गरेको शक्तिलाई परास्त गर्ने गरी निर्वाचन अगाडि बढ्नुपर्ने अवस्था आएको उनले बताए।

‘कोहीले पटक–पटक संसद् विघटन गर्ने र कोहीले राति २ बजे उठेर सदर गरिदिनेहरूका अगाडि सत्तारुढ गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि उभिएको छ‚’ प्रचण्डले भने।

माओवादी र काँग्रेसमा रहेको दृढ इच्छाशक्तिले देशमा आर्थिक समृद्धिको बाटो कोर्ने तथा प्रतिगमनकारी शक्ति पूर्ण रूपमा परास्त नभएसम्म गठबन्धन कायमै रहने आश्वासन दिँदै उनले चुनाव जितेपछि प्रचण्डले काँग्रेस छाडेर अरूसँगै दायाँबायाँ गर्छ कि भन्ने कुरामा शङ्का नगर्न गोरखाका काँग्रेसलाई अनुरोध गरे।

‘माओवादी भनेपछि देख्नै नसक्ने काँग्रेसका नेताहरू अहिले माओवादीका नेताहरू पनि कति राम्रा रहेछन् भन्नु भएको छ। काँग्रेसलाई देख्नै नसक्ने माओवादीका नेताहरू पनि काँग्रेसका राम्रा नेताहरू देखेर यस्ता पनि नेता हुने रहेछन् भन्नुभएको छ। प्रतिगमन पूर्ण रूपमा परास्त नहुने बेलासम्म यो गठबन्धन कायमै रहने छ,’ प्रचण्डले भने, ‘पहिलो पटक गोरखा जस्तो ऐतिहासिक ठाउँबाट उम्मेदवार हुन पाएकोमा खुशी लागेको छ। म क्षेत्र २ बाट लडेको भए पनि गोरखा जिल्लाका सबै नागरिकलाई माया मानेर सबै क्षेत्रमा खटिरहेको छु। किनकि मैले गर्ने विकास २ मा मात्रै होइन सिङ्गो गोरखा जिल्लाभित्र हो।’

यो निर्वाचन सामान्य र औपचारिक मात्रै नभई विकास र सुशासनको पक्षमा रहेकोले आफूले सुशासनको पक्षमा सबै शक्ति लगाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

आफूले देशकै नेतृत्व सम्हाल्ने सम्भावना बढेर गएकोसमेत बताएका प्रचण्डले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको सहमतिमा गोरखाबाट जितेर गएका नेतालाई मन्त्री दिने आश्वासन पनि दिए।

चितवनबाट गोरखा आएको विषयमा कतिपयले कुरा काट्ने गरेको प्रसङ्ग कोट्याउँदै उनले आफ्नो महत्त्वपूर्ण समय गोरखामा नै बितेकाले त्यसमा आपत्ति नगर्न अनुरोध गरे।

‘गोरखा मेरो लागि नयाँ होइन। आरुघाटमा ३ वर्ष पढाएको हुँ। जनयुद्धमा भूमिगत केन्द्र राखेर चलाएको हुँ। मेरो जवानी गोरखामा बित्यो अब जीवनको उत्तरार्द्धको समयमा पनि गोरखा आएको छु,’ प्रचण्डले भने, ‘अब मेरो उद्देश्य आर्थिक समृद्धिको हो। यही सपना बोकेर आएको हुँ। लुलो हात बनाएर तपाईंहरूले पठाउनु हुँदैन। बल्ल बल्ल जितेको जस्तो गरेर नपठाउनुहोस्। अहिलेसम्म नखसेको भोट खस्यो, रेकर्ड रह्यो, गोरखाली एक छन् भन्ने देखाउने जिम्मेवारी नागरिकको हो। न्यायाधीशको भूमिकामा जनता रहेका छन्। आजको फैसलाले भोलिको देश बनाउने हो।’

उनले कार्यक्रममा उपस्थित भएका नेता तथा कार्यकर्ताको माझमा बुढीगण्डकी बहुउद्देश्यीय परियोजना अगाडि बढाउने, गोरखामा देखिएका धुले बाटाहरू कालोपत्रे गर्ने, मनकामना जाने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखेर कालोपत्रे गराउने, त्रिशूली र बुढीगण्डकीमा मोटरेबल पुलको लागि इमान्दार पहल गर्ने, कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने, जडीबुटीको उपयोग गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.