|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृहजिल्ला आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन्।

देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए। त्यस वेला उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए।

देउवाले कात्तिक १७ गते अमरगढी, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिका तथा कात्तिक २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए। देउवा २० गते धनगढी फर्किएका थिए।

देउवा सातौँपटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवासहित नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मल्ललाई नेकपा एमालेको समर्थन हुने बताइएकोमा एमालेले तालमेल तोडेको घोषणा गरिसकेको छ। उनी अहिले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीसँग चुनावी तालमेल गर्दै प्रचारमा व्यस्त छन्। गुल्मीबाट आएर देउवाविरुद्ध उमेदवारी दिएका इन्जिनियर ढकाल पनि एकल प्रचारप्रसार गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.