माओवादी केन्द्रको चुनावी प्रचारमा सहभागी भएको उजुरी

|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण मागेको हो।

‘तपाईँ राष्ट्रिय खेलकुद परिषद्‍को सदस्यसचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषयमा स्पष्ट खुलाई पेश गर्नुहोला’, स्पष्टीकरण पत्र भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन।

‘तपाईँले नेकपा माओवादी केन्द्रको प्रचारप्रसार गरेको भएमा उक्त कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवा सम्बन्धी कानूनसमेतको उल्लंघन हुने हुन्छ’, पत्रमा भनिएको छ, ‘तपाईँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको रामेछाप जिल्लामा भएको कार्यक्रममा सहभागी हुनु भएको होइन भन्ने आधार कारण के छ?’

दलको प्रचारप्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र त्यही ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही हुनसक्ने भएकाले कारवाही किन हुनु नपर्ने हो भनी पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.