|

काठमाडौं : निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो।

समितिले निर्वाचन पूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ। निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ।

समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली, उम्मेद्वार दर्ता, निर्वाचन आचारसंहीता पालना, सुरक्षा प्रवन्ध,मतपत्र,मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको छ।

निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताए।

उनले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरु टाँस्ने तथा प्रचारप्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताए।

उनले आफूलाई एक जनाभन्दा बढी उम्मेद्वारले भोट नमागेको बताए। कार्कीले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा उम्मेद्वार र पार्टीहरु सजक देखिएको बताए। उनले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा आयोग कडा रुपमा प्रस्ततुत भएको बताए।

कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको भन्दै निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताउनु भयो। उहाँले पैसाको चलखेल हुने भनिए पनि अहिले देखिने गरी कतै पनि त्यस्तो नदेखिएको बताए।

त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए। उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताउनु भयो। उहाँले राजनीतिक पार्टीका उम्मेद्वारहरुले निर्वाचन आंचारसंहीताअनुसार मौन अवधिको राम्रो रुपमा परिपालना गरेको देखिएको बताए।

त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताए। उनले निर्वाचन व्यवस्थापनमा सुधार,राजनीतिक दलहरुले आचारसंहीताको बाटोमा हिँडेको र कर्मचारीहरुमा जागरुकता आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.