|

बैतडी :  बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका चार प्रहरी र एक चालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।   सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत  बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको प्रहरी बोकेको जिप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर चारजना प्रहरीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना गम्भीरलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर पठाइएको बैतडीको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। 

हेलिकप्टर मार्फत उद्धार गरिनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी जवानहरु पुतली खड्का, भानु विष्ट, आशा धामी  र जिप चालक देवराम महर रहेका छन्। यसका साथै घाइते भएका प्रहरी सहायक हवल्दार गोपाल बहादुर पाल, प्रहरी  जवानहरु नरेश कठरिया,टिकेन्द्र ऐरी र  चन्द्र सिंह ठगुन्नालाई  एम्बुलेन्स मार्फत धनगढी पठाइएको छ।   

दुर्घटमा परेर प्रहरी सहायक हवल्दार अर्जुन कठायत,प्रहरी जवानहरु लोकबहादुर बाठामगर,रमेश साउँद र विर्खबहादुर विष्टको मृत्यु भएको छ।  मृतक सबैको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्कदै गरेको १२ प्रहरी र १ चालक गरि १३ जना सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करीब ३ सय मिटर तल खोलामा खसेको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.