|

विराटनगर :  दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।

सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्।  

निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे भने जसपाका राजकुमार यादवले १७ हजार ३९० मत पाएका छन्।

अघिल्लो निर्वाचनमा काँग्रेसका अमृत अर्याललाई हराउँदै विजयी बनेका माओवादी केन्द्रका नेता मण्डल ०७० मा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्तिमन्त्री बनेका थिए।

यता स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र भने विद्यार्थीकालको राजनीतिमा मात्र निर्वाचनमा जितेको अनुभव रहेको बताउंँछन्। संसदीय निर्वाचनको पहिलो अनुभव रहेको बताउने उनले मतगणनाको शुरुवातदेखि नै अग्रता कायम राखेका थिए।

नेकपा एमालेको प्रदेश कमिटी सदस्यसमेत रहेको योगेन्द्र पछिल्लो ५ वर्षदेखि सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा रहे पनि अन्तिम समयमा एमाले  र जसपाको गठबन्धन हुँदा जसपाको भागमा  क्षेत्र ५ पर्दा उनलाई पार्टीले टिकट दिएन। उनले पार्टीसँग असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

‘जित्छु भन्ने विश्वस्त थिएँ’

तपाईंलाई जित्छु भन्ने विश्वास थियो ? सञ्चारकर्मीको प्रश्नमा उनले निर्धक्क जवाफ दिए‚ ‘म जित्छु भन्नेमा विश्वस्त थिएँ।’

यो जीत जनताको जीत भएको बताउने उनी अबका दिनमा आफू निर्वाचित क्षेत्रसँगै देशमा गरिबीरहित नेपालको परिकल्पनासहित आफू निर्वाचनमा आएको बताउने उनी सोही अभियानमा केन्द्रित रहने बताउँछन्।

सामान्य कुराहरूमा नै जनता दुःखी रहेको उनले बताए। उनले भने, ‘खेतीमा मल छैन, मलबिना किसानले कसरी खेती गर्ने? सरकारी अस्पतालहरू सुधार्नुपर्ने छ, सुध्रिँदैनन् भने जनतालाई विकल्प दिनु पर्‍यो। सरकारी विद्यालयको दयनीय अवस्था छ। शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भएका यस्ता विकृति सुधार्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर मैले एजेण्डा बनाएको छु।’

को हुन् योगेन्द्र?

जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट राजनीतिमा उदाएका धनपालथान गाउँपालिका-२ का योगेन्द्र २ दशकअघि स्थापना गरेको जीवन विकास लघुवित्त संस्थाका संस्थापक अध्यक्ष हुन्।

२०५४ सालमा स्थापना गरेको सो संस्थाले २४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ। ३ लाखभन्दा बढी सदस्य रहेको सो संस्थामा १ हजार २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लघुवित्त संस्थाको उपलब्धि र कामले प्रत्यक्ष रुपमा क्षेत्र ५ का जनतामा प्रभाव परेको छ।

५ नम्बर क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित स्थापना भएको जीवन विकास लघुवित्तले स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि उत्तिकै प्रभावकारी भूमिका खेल्दै आएको छ।

२ वर्षभित्र ३ सय शय्याको सुलभ अस्पताल सञ्चालनका लागि उनको नेतृत्वमा संरचना निर्माण भइरहेका छन्।

आफूले सञ्चालनमा ल्याएको लघुवित्तमा सफलता हासिल गरेपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। २०७४ सालको निर्वाचनपछि उनले एमालेबाट नै मोरङ क्षेत्र ५ मा केन्द्रित रहेर राजनीति शुरु गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.