|

सर्लाही : प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही २ को मतगणनामा मधेश प्रदेशका चर्चित नेताद्वय राजेन्द्र महतो र महिन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

एउटै सत्ता गठबन्धनमै भए पनि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी दोस्रोपटक चुनावी मैदानमा भिडेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जारी मतगणनामा पटक–पटक एकले अर्काेलाई उछिनिरहेका छन्। ५ दिनअघिबाट शुरु भएको मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिइरहेका थिए भने महतोले थोरै मतान्तरमा पछ्याइरहेका थिए।​

बिहीवार साँझ महतोले अग्रता लिए तर महतोको अग्रता टिकिरहन सकेन। शुक्रबारबाट पुनः यादवले महतोलाई पछाडि पारेका छन्। शुुक्रवार दिउँसो जारी मतगणनाको पछिल्लो परिणाम अनुसार यादवको १५,१०६ मत रहेको छ। महतोले १४,०६१ मत प्राप्त गर्दा यादवले १०४५ मतको अग्रता रहेको छ। त्यस्तै नेकपा एमालेका राजनारायण साहले हालसम्म १०,८१९ मत ल्याएका छन्।

महतो प्यानलबाट प्रदेश (क)मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जंगिलाल राय विजयी भइसकेका छन्। महतोले प्रदेश (क)मा कांग्रेसका रायलाई र (ख)मा लोसपाका मेथुर चौधरीलाई आफ्नो प्यानलमा राखेका थिए भने यादवले (क)मा माओवादीका सुनिलकुमार साह र (ख)मा नेपाली कांग्रेसका कौशलकिशोर रायलाई आफ्नो प्यानलमा राखेर चुनावमा होमिएका हुन्।

आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमतिअनुसार उसैको चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरू दुईजना धेरैपटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, आपसमा लड्ने (निर्वाचन) समेत गरेका छन्।

यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त करिब–करिब सोही क्षेत्र पर्ने तत्कालीन ४ नम्बर क्षेत्रमै एकापसमा चुनावी मैदानमा उत्रदा यादवले बाजी मारेका थिए। २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

महतोले २०७४ सालमा भने नेकपा एमालेको सहयोगमा धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्न सफल भएका थिए।योपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफैँ उम्मेदवार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा यादवसँग पुनः भिडेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.