|

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्। 
    

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले भने,‘देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन।’ उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताएका छन्। 

बुवा स्व. केशवप्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट २००७ भदौ ९ मा विराटनगरमा जन्मेका उनले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गरेका छन्। राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनुवामा बसेका थिए। 
    
नेविसङ्घको स्थापनाकाल २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध भएका डा कोइराला २०२८ सालदेखि पार्टी सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेका हुन्।  नेपाली कांग्रेसको ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले  १४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदका लागि लडेका थिए। 

विसं २०६५ मा भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा मोरङबाट निर्वाचित डा कोइराला २०७० मा पनि निर्वाचित  भएका थिए।  कोइराला २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का लालबाबु पण्डितसँग पराजित भए पनि आसन्न निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.