|

काठमाडौं : चुनावको पाँच महिनाअघि मात्रै जन्मिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको मत परिणामअनुसार सरकार बनाउने अंकगणितमा निर्णायक बन्ने देखिन्छ।

चितवन–२ बाट भारी मतान्तरका साथ चुनाव जितेका लामिछानेले सरकारमा जाने नजानेबारे धारणा बनाइसकेका छैनन्। यद्यपी बुधबार उनले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै चुनावमा गठबन्धन नगरिएको र आवश्यक परे गठबन्धनका लागि तयार रहेको बताएका छन्

प्रत्यक्षमा हालसम्म सात सिट जितेको स्वतन्त्र पार्टी समानुपातिक तर्फको मतगणना समेतको नतिजालाई हेर्दा सरकार गठनका लागि ‘किङ मेकर’ बन्ने सम्भावना छ। फरक–फरक विधाका मानिसलाई टिकट दिएको रास्वपाको संसदमा पहिलो उपस्थितिलाई आम रुपमा चासोका साथ हेरिएको छ। 

०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ता भएको रास्वपा संसदमा प्रवेश गर्दै गर्दा उसका आगामी रणनीतिक कदमबारे चासो देखिएको हो। रवि लामिछानेको नेतृत्वमा संसद् प्रवेशको तयारी गरिरहेको रास्वपाले पार्टीको नीति, सिद्धान्तबारे प्रष्ट पारेको छैन।

प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाको यो नीतिलाई चासोका साथ हेरिएको छ। राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल स्वतन्त्र पार्टीले आफ्नो नीति र सिद्धान्तबारे प्रष्ट पर्नुपर्ने बताउँछन्।

प्रदेशसभामा उम्मेदवारी नदिएको र मतदान पनि बहिष्कार गरेकाले आफ्नो नीति जनतालाई स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। 

‘संघीयताबारे उहाँहरूले स्पष्ट पार्नुपर्यो। उहाँको बाटो के हो भन्न पर्यो। प्रदेशमा आफ्ना उम्मेदवार उठाउनु भएको छैन। संघीयता मानेका छैनन्। संघीयताबारे राप्रपाले जस्तो टुटायर सिष्टमको कुरा गर्नुभएको छ,’ उनले भने।  

छोटो समयमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने गरी उदाएको रास्वपाले सत्ता केन्द्रित राजनीति गर्न नहुने दाहालको भनाइ छ। उनले स्वतन्त्र पार्टी  सरकारमा गएर कांग्रेस–एमालेको आग्लो भए जनताको विश्वास गुमाउनेसमेत बताए। 

‘एउटा पत्रकारको नेतृत्वमा यति ठूलो कम्पन पैदा भएको छ। यो उपस्थितिलाई सत्ताका लागि अवसर बनाउनुभएन भने राम्रो हो। २०५१ मा राप्रपा एमाले र कांग्रेसको आग्लो भएर घुमिरह्यो। ०६४ पछि मधेशवादी दलले संसदमा राम्रै उपस्थिति जनाएका थिए तर, उनीहरु पनि माओवादी, कांग्रेस र एमालेको आग्लो भएर घुमिरहे। स्वतन्त्र पार्टी आग्लोको रुपमा रह्यो भने राम्रो हुँदैन,’ दाहालले भने। 

राजनीतिक विश्लेषक विष्णु सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना दलप्रतिको आक्रोश भएको बताए। जनताले आक्रोश पोख्ने ठाउँ नपाएकाले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले आक्रोश पोख्ने प्लेटफर्म बनाएको उनको भनाइ छ।

‘पुराना दलप्रति जनता आक्रोशित थिए। उनीहरूले आक्रोश पोख्ने अवसर पाएका थिएनन्। यो आक्रोश स्वतन्त्र पार्टीमार्फत पोखेका हुन्। जनताले आक्रोश पोख्ने नयाँ प्लेटफर्म पाए। यो राम्रो पक्ष हो,’ उनले थाहाखबरसँग भने। 

सापकोटाले स्वतन्त्र पार्टीको उदयले कन्जरभेटिभ विचार राख्ने समुदाय पनि उत्साहित रहेको उल्लेख गर्दै उनीहरूले गर्ने काम हेर्न बाँकी रहेको बताए।

‘स्वतन्त्र पार्टीको उदयले कन्जरभेटिभ विचार राख्ने समुदाय पनि उत्साहित छन्। तर म के भन्छु भने  नयाँ आउनु राम्रो हो, नयाँ आएकाले गरेको राम्रो हेर्न बाँकी छ,’ उनले भने।  

राष्ट्रिय स्वतन्त्र पार्टीमा फरक–फरक क्षमता भएका उम्मेदवार विजयी भएकाले संसदमा उनीहरूको भूमिका हेर्न बाँकी रहेको सापकोटाको भनाइ छ। संसदमा प्रस्तुत हुने नीतिगत र कानुनी विषयमा नवनिर्वाचित सांसदले खेल्ने भूमिका महत्वपूर्ण हुने उनले बताए। 

‘स्वतन्त्र पार्टीलाई अवसर धेरै छन्। पहिले परीक्षण भएकामध्ये कतिपयले संसदमा भूमिका खेल्न सकेका छैनन्। तर, अहिलेका प्रोफेसनल व्याग्राउण्ड भएका सांसद धेरै छन्। आफ्नो क्षेत्रमा ख्याती कमाएका व्यक्ति छन्। विधागत र राजनीतिक पृष्ठभूमि पनि फरक छ। संसदमा छलफल हुने नागरिकता विधेयक लगायतका विषय हुन्छन्। यस्ता विषयलाई कसरी लिने भन्ने विषय महत्वपूर्ण छ,’ सापकोटाले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशका विषयमा लिएको नीति संघीयतालाई स्वीकार गर्ने प्रकृतिको नभएको उनको विश्लेषण छ। 

‘प्रदेशको विषयमा संघीयता प्रतिको दृष्टिकोणबाट हो भने राम्रो होइन। उम्मेदवार चयन गर्न नभ्याएको भए ठिकै छ। उक्त पार्टीले प्रदेशको काम छैन भनेको हो भने नेपाली परम्परागत भाषामा प्रतिक्रियावादी भन्छु,’ उनले भने। 

सरकार सञ्चालनको स्वरुप कस्तो हुन्छ ?

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ। कांग्रेसले शुक्रबार साँझ ६ बजेसम्म प्रत्यक्षमा ४४ सिट जितेको छ भने १० सिटमा अग्रता लिइरहेको छ। एमालेले ३४ सिटमा जित निकालेको छ भने ११ सिटमा अग्रता लिइरहेको छ। माओवादी केन्द्रले १२ सिट जितेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ। 

एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हात पारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिटमा जित हात पारेको छ भने दुई स्थानमा अग्रता लिइरहेको छ। यस्तै  जनमत पार्टीले ३, लोसपा दुई, जनता समाजवादी पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक, नेपाल मजदुर किसान पार्टी एक, जनमत पार्टीले एक सिट जितेका छन्।

समानुपातिकको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन। तर, पछिल्लो सम्भावित आंकलनअनुसार कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी ८५ सिट हाराहारीमा सिमित हुने देखिन्छ। नेकपा एमाले ८० सिट, माओवादी केन्द्र ३३,  राष्ट्रिय स्वतन्त्र पार्टीले २०-२४ सिट ल्याउने अनुमान गर्न सकिन्छ। सरकार सञ्चालनका लागि यो आधारमा विश्लेषण गर्दा सत्ता गठबन्धन दल एक जुट भए १३१ सिट मात्रै हुने देखिन्छ। सरकार निर्माण गर्नका लागि १ सय ३८ सिट आवश्यक पर्छ।

त्यसका लागि गठबन्धनलाई अन्य दलको साथ लिनुपर्नेछ। किनकी संसदमा स्पष्ट बहुमत पुर्याउन रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीसहित केही साना दलको समर्थन आवश्यक पर्ने देखिन्छ। 

यस्तै एमाले नेतृत्वको सरकार बन्न अहिले चुनावी सहकार्य गरेका दलहरुबीच गठबन्धन भए १ सय ३ सिट हाराहारीमा मात्रै पुग्ने देखिन्छ। एमालेले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रको साथ लिनुपर्नेछ। तर, दलहरुको पछिल्लो समीकरणलाई आधार मान्ने हो भने यसै भन्न सक्ने अवस्था देखिँदैन। 

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको आक्रोशका रुपमा लिएको छ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नयाँ पार्टीको भिजन नभएकाले यसको विश्वास नभएको बताए। 

‘नयाँ पार्टीको कुनै भिजन,कार्यक्रम छैन। तर,पनि यो निर्वाचनले ठूला शक्तिहरूमा असन्तुष्टि भएको,तौरतरिका ठीक छैन भन्ने सन्देश दिएको छ। मधेशको पहिचानको नारा थियो। तर, काम भएन भन्ने सन्देश दियो। यो नयाँ पार्टी विद्रोह गरेर आएको होइन, फेसबुक जमातले आएको हो,यो अस्थिर हुन्छ,यसको विश्वास छैन,’ उनले भने। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले हो हल्ला गरेर देश नबन्ने टिप्पणी गरिसकेका छन्।  अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबारे गरिएको प्रचारले देशलाई गलत बाटोतिर लैजाने बताएका हुन्। 

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी को के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

स्वतन्त्र पार्टीका सभापति लामिछानेले आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वतन्त्र पार्टीप्रति देखिएको जनलहरप्रति चिन्ता व्यक्त गरेका छन्। जनताकाे अधिकारका लागि ठूल्ठूला आन्दोलन गरेका दलहरुलाई मत नआउँदा सिद्धान्त, नीति र विचारमाथि प्रश्न उठेको भन्दै उनले देश अफ्ठेरोमा पर्न सक्ने बताए।

गोरखामा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले अब राजनीतिक नेतृत्व सच्चिन जरुरी रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.