|

काठमाडौं : हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार्ने र आर्थिक रुपमा सबल बनाउन ल्याइएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ। 

स्थानीय सरकारले ल्याएको हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याई झूठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको २ लाख २३ हजार रूपैयाँ अनियमितता भएको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

अनियमितामा मुछिएका नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीलाई मुद्दाका प्रतिवादी बनाइएको छ।

अख्तियारले निमित्त प्रमुख र लेखा अधिकृतलाई १ लाख ६१ हजार र प्राविधिक सहायक भण्डारीलाई २ लाख २३ हजार रूपैयाँ बिगो कायम गरी सजायको माग गरेको छ।

छाँयानाथ रारा नगरपालिकाकै वडानम्बर १ स्थित परेप सिँचाइ कुलो निर्माण योजनामा आर्थिक वर्ष ०७६/७७ मा यथार्थ कामभन्दा बढी कामको रकम भुक्तानी गरी ८ लाख ९ हजार हिनामिना भएको पाइएको छ।

सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख पंचलाल बुढा, सब-इन्जिनियर राजेन्द्र शाही, उपभोक्ता समितिका ४ पदाधिकारीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।

यसैगरी पर्साको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन ब्लक नम्बर २ र १० को नहर निर्माणमा साढे ५ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

नहर निर्माणका क्रममा ५ लाख ६१ हजार ९५० रूपैयाँ अनियमितता भएको भन्दै अख्तियारले तत्कालीन सिडिई मदनमोहन झा, लेखा अधिकृत मुरारीप्रसाद आचार्य, ब्लक नम्बर २ बिर्ताका अध्यक्ष कुसुमदेवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसादविरुद्ध मुद्दा दर्ता गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.