गठबन्धनको सरकार बन्‍नेमा कुनै शंका छैन : उपसभापति खड्का

|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा  श्रद्धाञ्जलि अर्पण गर्न पुगेका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताभका हुन्।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्‍नु नपर्ने बताए।

उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए। उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए। कांग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे।

उनले भने, ‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ। त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ। त्यही दिशामा अगाडि बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशिलता पनि रहनेछ। सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ। सत्ता गठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडी आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन।

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे। व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ।

उनले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए।

उनले सत्तागठबन्धनकै सरकार बनाउने बताए। वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए।

त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडि बढाएको उनले उल्लेख गरे। सहमतिमै सरकारको नेतृत्वको चयन हुने उहाँले स्पष्ट पारे।

उनले कानुन निर्माणको कामलाई तीव्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए।

उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनै पनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.