|

भारतीय टेलिभिजन च्यानल ‘एनडिटिभी इन्डिया’को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएका प्रसिद्ध पत्रकार रविश कुमारले बिहीबार एक भिडियो जारी गर्दै युट्युबमार्फत पत्रकारितालाई निरन्तरता दिने बताएका छन्।

‘भारतमा पत्रकारिताको स्वर्णयुग कहिल्यै थिएन, तर आजको जस्तो भस्म युग पनि थिएन’, भिडियोमा उनले भनेका छन्, ‘भष्मयुग यस अर्थमा कि अहिले पत्रकारिताका हरेक राम्रा पक्षहरूलाई भष्म गरिँदैछ।’

एनडिटिभीको निर्णायक शेयर प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिने अडानी समूहको हातमा जाने भएपछि रविश कुमारले राजीनामा दिएका हुन्। केही समययता अडानी समूहले छद्म र घुमाउरो बाटो समातेर एनडिटिभीमा आफ्नो शेयर बढाउँदै लगेको थियो।

सरकारप्रति आलोचनात्मक रुपमा प्रस्तुत हुने रविशको शैलीलाई नियन्त्रण गर्नको लागि अडानी समूहले उक्त हथकण्डा अपनाएको आलोचकहरूको आरोप छ। रविशका प्रशंसकहरूले ‘पत्रकारले बिक्री हुन अस्वीकार गरेपछि मोदी पक्षका व्यापारीले टेलिभिजन नै खरिद गरेको’ टिप्पणी गरेका छन्।

एनडिटिभी इन्डियाबारे रविशले भनेका छन्, ‘यो समयमा उक्त संस्थाबारे खासै केही भन्दिनँ, किनकी भावुक भएका बेला तटस्थ रहन सकिँदैन। एनडिटिभीमा मैले २६–२७ वर्ष बिताएँ। अन्मिएर गएकी छोरीले जसरी टाढा पुगिसक्दा पनि फर्किफर्की माइतीतिर हेर्छिन्, म अहिले त्यस्तै स्थितिमा छु।’

एनडिटिभीमा आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘तपाईंको बीचमा आउँदा म घरै फर्किइनँ। म आफैँसँग पनि रहिन। अब आफैँसँग रहन केही समय मिल्छ होला। साँझ घर फर्किएको चरोले आफ्नो गुँड भेट्टाएन भने कस्तो हुन्छ? यो साँझ मेरा लागि त्यस्तै भएको छ। सायद अरू कसैले उसको गुँड नै लगिदियो। यद्यपि उसले आफ्नो अगाडि खुला आकास जरुर देखिरहेको छ।’

‘मेरो आँखासामू दुनियाँ बदलिँदै गयो। म टेस्ट म्याचको खेलाडीझैँ टीकिरहेँ। तर अहिले आएर कसैले खेल नै सिध्याइदियो। खेललाई टी–ट्वेन्टीमा बदलिदियो’, भिडियोमा उनले भनेका छन्, ‘जनतालाई कौडी बराबर नगन्ने जगत–सेठहरू हरेक देशमा छन्। हाम्रो देशमा पनि छन्। उनीहरूले तपाईंसमक्ष सही सूचना पुर्‍याउँछौं भन्ने दाबी गर्छन् भने यसको मतलब हो उनीहरू आफ्नो खल्ती डलरले भरेर तपाईंको खल्तीमा सुकामोहोर हाल्दिन चाहन्छन्। पत्रकारले एउटा समाचार लेख्यो भने जगत–सेठहरू मुद्दा ठोकिदिन्छन्। तिनै मानिस फेरि पत्रकारको भलो चाहन्छौं भन्दै प्रवचन दिँदै हिँड्छन्। तपाईं दर्शकहरूले यत्ति त पक्कै बुझ्नुहुन्छ।’

भिडियोको अन्त्यमा उनले भनेका छन्, ‘अब तपाईंले मलाई उक्त च्यानलमा देख्न सक्नुहुन्न। तर मैले आफ्नै युट्युब च्यानल बनाएको छु – रविश कुमार अफिसियल। त्यहीँ भेटौंला।’

को हुन् रविश कुमार?

रवीश एनडिटिभी समाचार नेटवर्कको हिन्दी च्यानल एनडिटिभी इन्डियाका कार्यकारी सम्पादक थिए। उनले सञ्चालन गर्ने ‘हम लोग’ र ‘रविशका रिपोर्ट’ कार्यक्रम लोकप्रिय थिए। त्यस्तै ‘देश की बात’ शीर्षकको प्राइम–टाइम कार्यक्रम पनि दर्शकले रुचाएका थिए।

उनी सत्ताविरोधी अडानका कारण चर्चामा रहने गर्दथे। आफ्नो रिपोर्टमा बेरोजगारी, शिक्षा तथा सांप्रदायिकता जस्ता विषयलाई प्राथमिकतामा राख्दथे। प्रधानमन्त्री नरेन्द्र मोदीको गुणगानमात्रै गाउने मिडियालाई उनले ‘गोदी मिडिया’को संज्ञा दिएका थिए।

मोदीलाई प्रेसले समेत प्रश्न सोध्न पाउने गरी पत्रकार सम्मेलन गर्न वा आफूसँग अन्तर्वार्तामा बस्न चुनौती दिँदै आएका थिए। यसरी उनी सत्तारुढ भारतीय जनता पार्टीका लागि टाउको दुखाइको विषय बन्दै आएका थिए।

रवीशलाई सन् २०१९ को रेमन म्याग्सेसे पुरस्कारबाट पुरस्कृत गरिएको थियो। साहसिक तथा परिवर्तनकारी भूमिका खेल्ने एशियाली व्यक्तित्वलाई लागि उक्त सम्मान दिने गरिन्छ।

अवार्ड घोषणा गर्ने क्रममा रविशबारे उक्त पुरस्कारदाता संस्थाले भनेको थियो, ‘रविशले पत्रकारितामार्फत् त्यस्ता आवाजहरूलाई मूलधारामा ल्याए, जसलाई सधैँजसो उपेक्षा गर्ने गरिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.