|

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ। 

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो। प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेशको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको जानकारीसहित प्रदेशको सबै यातायात कार्यालयमा परिपत्रसमेत गरेको छ।

यससँगै मंसिर १८ गते संघीय राजधानी समेत रहेको काठमाडौंको चाबहिलस्थिति यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए। १८ गतदेखि नै ट्रायल परीक्षामा ७० अंकको व्यवस्था कार्यान्वयनमा ल्याइने भए पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालय क्रमशः कार्यान्वयनमा जाने उनको भनाइ छ। 

पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो। निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो। लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ। यसअघि ५० थियो। गत असोज १ गतेदेखि लागू गर्ने तयारी गरेकोमा प्रदेश यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच असमझदारीले रोकिएको थियो।

यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन। अब प्रयोगात्मक परीक्षमा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने छ। प्रदेश यातायात मन्त्रालयलको परिपत्रअनुसार परीक्षास्थलमा निष्पक्षता कायम गरी परीक्षाको रेकर्ड राख्न सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने छ। त्यसैगरी परीक्षाका क्रममा भएका सबै चरणका गतिविधिको भिडियो ३० दिनसम्म विद्युतीय अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट कसैले पक्षपात गरेर फेल गरेको उजुरी दियो भने पनि रेकर्ड हेर्न सकिनेछ। परिपत्रमा परीक्षास्थल उपयुक्त भए-नभएको निरीक्षण गरेर मात्र लागू गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको छ।

दुईपांग्रे सवारीसाधनको ट्रायल मापदण्ड

मापदण्ड लागू भएमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। 

दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्।

निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा ‘उबडखाबड’को अंकभर १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्। त्यसैगरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। 

चारपांग्रे सवारीसाधनको निर्देशिका

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ, जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ। त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। ​

चारपांग्रेका सवारीचालकलाई र्‍याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ। ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.