|

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया  र नेपालबीचको खेल नतिजाविहीन बनेको छ। त्रिदेशीय सिरिज अन्तर्गत भएको शुक्रबार पहिलो खेलमा नेपाल अंक बाँड्न बाध्य भयो।

वर्षाका कारण नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। यो सँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ रन जोड्दा वर्षा सुरु भएको थियो। त्यसपछि पुन: खेल हुन नसक्दा दुवै टिम अंक बाँड्न बाध्य भए। 

वर्षाअघि युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको स्कोर तयार गरेका थिए।

मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौँ अर्धशतक प्रहार गर्दा अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। ज्ञानेन्द्रले आफ्नो इनिङमा ९४ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ७५ रनको स्कोर बनाए।

त्यस्तै, आसिफ शेखले २० रन बनाउँदा आरिफ शेखले २३ रनको योगदान दिए। ओपनर अर्जुन साउद १८ रन बनाएर आउट हुँदा गुल्सन झाले पनि १८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाए। दिपेन्द्रसिंह ऐरी भने गोल्डेन डकआउट भएका थिए।

 नामिबियाका लागि टगेनी लुङ्गामेनीले ३ विकेट लिँदा कर्ल विरकेन्सटकले २ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.