|

जनकपुरधाम : धनुषामा  पिकअप भ्यानले विंगरलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।  

शनिबार बिहान करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.१ ज. ८३९६ नम्बरको विंगरलाई विपरीत दिशाबाट जाँदै गरेको ज.१ त. १४९६ नम्बरको पिकअप भ्यानले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित वीरेन्द्रबजारमा ठक्कर दिएको हो।

दुर्घटनामा परी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ बस्ने २९ वर्षीया रूबी साह र धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय विंगर चालक अब्दुल मन्सुरीको मृत्यु भएको हो। यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका ७ बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र उनकी १३ वर्षीय बहिनी सृजना साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक रायले बताए। दुर्घटनामा परी मृत्यु भएकामध्ये एकजनाको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए।

घाइते हुनेहरूमा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका ४ जना, महोत्तरीको पिपरा गाउँपालिकाका ३ जना र लोहारपट्टी नगरपालिकाका २ जना रहेको डीएसपी रायले जानकारी दिए। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

पिकअपका चालक रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने १८ वर्षीय सविन विकलाई नियन्त्रणमा लिइ दुर्घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.