|

काठमाडौं :  जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन्।

सप्तरी क्षेत्र- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारेका छन्।

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए।

अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे। एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो।

 ‘हामीले जुन सपना देखेका थियौं। हामीले सपना देख्यौं देशको समृद्धिको, समानताको, भाईचाराको। त्यसलाई आगामी दिनमा हामी पूरा गर्न प्रतिवद्ध रहनेछौं। आफ्ना एजेण्डाहरूप्रति इमान्दार रहनेछौं। र, त्यही अनुरुप काम गर्नेछौं भनेर भन्न चाहन्छु। र, आगामी दिनमा तपाईँहरूले मलाई यहाँसम्म पुर्‍याई दिनुभयो', उनले भने, 'तपाईँहरूको पनि काम सिद्धियो भनेर होइन। यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो। यहाँबाट तपाईँँहरूको सहयोग झन बढि चाहिन्छ। अव काम गर्ने बेला आयो। काम गर्ने ठाउँमा पुग्यौं। यतिबेला तपाईँहरूको सहयोग झन बढि हामीलाई चाहिन्छ। तपाईँहरू जुनसुकै वर्गको हुनुहोस्। विद्यार्थी हुनुहोस्, कर्मचारी हुनुहोस्। अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ। व्यवसायी हुनुहुन्छ। जुनसुकै वर्गबाट हुनुहुन्छ। तपाईँहरूको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ।'

आफूले कतै पनि बाटो बिराएको खण्डमा एकदम निर्धक्क भएर रोक्न उनले आग्रह गरे। अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्‍याए। उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवादसमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.