|

पर्वत : कास्कीको लेखनाथमा हुने गरेको ‘लेखनाथ महोत्सव’ को १८ औँ संस्करण आगामी पुस ७ गतेदेखि १८ गतेसम्म हुने भएको छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना पोखरा २७ तालचोकस्थित डाँडाको नाकमा महोत्सव गर्न लागिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष संघका अध्यक्ष छत्रधर आत्रेयले बताए।

महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रालय र पोखरा महानगरपालिका सहआयोजक रहेका छन्। सगरमाथा इन्स्योरेन्स कम्पनीको मुख्य प्रायोजनमा हुने महोत्सवको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गर्ने छ।

महोत्सवको बारेमा जानकारी दिन शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आत्रेयले कोभिड–१९, रुस–युक्रेन युद्ध लगायतका कारण वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को ब्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगी बन्ने बताए। औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवर्द्धन, स्थानीय उत्पादनलाई प्रोत्साहन, लघु तथा घरेलु वस्तुलाई प्राथमिकता, साना उद्योगहरूको प्रवर्द्धन, उद्यमशीलता र प्रविधिको हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकका उत्पादित औद्योगिक, दैनिक उपभोग्य बस्तु र सेवाको प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।

महोत्सवमा विभिन्न जातीय भेसभुसा, कला र संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने र विशेष आन्तरिक पर्यटनलाई बढवा दिइने संघले बताएको छ। यस्तै साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपन्छी प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, शैक्षिक तथा हस्तकला प्रदर्शनी लगायतका आकर्षण पनि महोत्सवमा रहने छन्।

यस्तै जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज र संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रतियोगिता, झाँकी र्‍याली, भेसभुसा प्रदर्शनी, हास्यव्यङ्ग्य प्रहसन, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक तथा दोहोरी कार्यक्रम र युवाका लागि लक्षित लाइभ कन्सर्ट पनि हुने छन्। 

महोत्सवलाई व्यवस्थित बनाउन निर्देशक समिति, उपसमिति, सल्लाहकार समिति र कार्यसम्पादन समिति बनाइएको छ। महोत्सव सफल पार्नका लागि २ हजार सदस्यीय मूल समारोह समिति बनाइएको छ। 

तीन सय ३७ वटा स्टलहरू रहने महोत्सवलाई दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा करिब १० करोडको आर्थिक कारोबार हुने अनुमान छ। त्यसबाट आयोजकलाई ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च हुन सक्ने छ। १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणमा पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरूको प्रवर्धन लगायतका क्षेत्रमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.