|

काठमाडौं : काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी मनाइने भएको छ। राजधानीमा बुधबार महानगर दिवसबारे जानकारी दिइएको हो। 

महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न भोजन मेला हुने भएको छ।

महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महशुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू हुने भएका छन्। 

महानगरले ७ जना जनप्रतिनिधि, ५ जना कर्मचारीहरूलाई सेवा भावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मान गर्ने भएको छ।

५० हजार नगदसहित उत्कृष्ट महानगर सेवा पुरस्कार, महानगर सेवा पुरस्कार, जनकमान श्रेष्ठ सुशासन पुरस्कार र ५ जना पत्रकारलाई सुशासन पत्रकारिता पुस्कारसहितको सम्मान कार्यक्रम रहने महानगरले जनाएको छ। 

मानन्धरले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य र व्यावहारिक शिक्षा, मूर्त/अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए।

उनले महानगरपालिकाले फोहारमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको बताए। ​शहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताए।

महानगरमा राजश्व तिर्न, भवन नक्सा स्वीकृत गर्ने लगायत कामका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताए। शहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधारका काम भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.