|

इलाम : इलाम २ मा मतगणनाको क्रममा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले पुन: मतगणनाको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको उल्लेख छ।

साथै, नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ।

खड्काले माङसेबुङ, देउमाई क्षेत्रबाट अनिवार्य रूपमा सुरक्षाकर्मीको सुरक्षागस्ती गरी सुरक्षित तवरले ल्याउनुपर्ने व्यवस्थाको ठाडो उल्लंघन भएको आरोप लगाएका छन्। खड्काले मतदान भएका ४९८ मत पत्र नभेटिएको निवेदनमा उल्लेख गरेका छन्।

उनले मतगणनाका क्रममा मतपत्र नभेटिएपछि मतगणना कार्य स्थगित गरी पुनः मतगणनाको माग राखेर निवेदन दर्ता गरे पनि सुनवाई नभएको उल्लेख गरेका छन्।

गत मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार खड्का ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए। इलाम नगरपालिका–१ र २ को मतगणना बाँकी रहँदासम्म अग्रता बनाएका खड्का अन्तिम मत परिणाममा पराजित भए। उनी पुर्व प्रधानमन्त्री झलनाथ खनालको गृह वडा इलाम नगरपालिका–१ साखेजुङमा विजेता मत नपाउँदा प्रतिनिधिसभा सदस्य बन्नबाट ११४ मतले पछि रहे। सो वडामा गत स्थानीय तहका निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।

केही दिनअघि नेपाली कांग्रेसको चुनावी समीक्षा भेलामा खड्काले अन्तरघातका कारण इलाम–२ मा पराजित भएको बताएका थिए। उनले आफ्नै पार्टी हराउन कांग्रेसका कार्यकर्ताहरु नै लागेको समेत बताए। खड्का भक्कानिँदै भने ‘ मेरो २ वटै मोवाइल स्विच अफ आउँछ। धेरै दिन भइसक्यो जति पनि मोवाइल आउँछ कसरी जवाफ दिउँ। अब म सरी भन्छु। ४० वर्ष राजनीति गरेर कसैलाई अन्याय गरिनँ। विष्णु दिदी (इलाम नगरपालिका उपप्रमुख विष्णु लिम्बु दाहाल) लाई टिकट दिए विष्णु दिदी चुनाव हार्छ भन्दै हिँड्ने वडाध्यक्षहरुलाई टिकट दिएर जिताए। जित्दैन भनेर हिँड्ने सदस्यहरु गएर सुवास नेम्वाङजीलाई भेट्ने मलाई यहाँ आइज त्यहाँ आइज भनेर क्याप्चर गरेर राख्ने’

खड्काले सम्बोधन गरिरहँदा कार्यकर्ताहरुले अन्तरघातीलाई यहाँ ल्याउनुपर्यो भन्दै नाराबाजी गरेका थिए।

खड्काले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकारी, जिल्ला प्रशासन कार्यालय, एमालेका सुवासचन्द्र नेम्वाङलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.