|

नेपालमा रग्बी खेलको प्रवेश वि.सं. ५० को सुरुवात बाट भए पनि लय लिएको एक दशक पनि पुगेको छैन। भारतमा अध्ययन गर्न गएकाहरूले रग्बी नेपाल भित्र्याए। सिद्धिशमशेर राणाको नेतृत्वमा २०५२ साल रग्बी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको थियो।

सुरुआती समयमा केही गतिविधि भए पनि पछि निष्क्रिय बन्यो, जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको थिएन।  २०६८ सालमा राखेपका वर्तमान सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि खेलको बारेमा सामान्य चर्चा सुरु भयो। 

गत वर्षबाट विभिन्न जिल्ला र प्रदेशस्तरीय समिति गठन प्रक्रिया सुरु भएको छ। कतिपय जिल्लामा पालिकास्तरीय समिति समेत गठन भएका छन्। यद्यपि अझै पनि धेरै नेपाली रग्बी खेलबारे अनभिज्ञ छन्। 

स्थापनाको दुई दशकपछि मात्र नेपालले पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा सहभागिता जनाएको छ। नेपालले सन् २०१५ देखि लगातार एसियन च्याम्पियनसिपमा सेभेन–ए–साइडतर्फ सहभागिता जनाउँदै आएको छ। यसै वर्ष नेपालले रग्बी—१५ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजमा सहभागिता जनाएको थियो, जुन विश्व रग्बी महासंघको आधिकारिक प्रतियोगिताको रूपमा रहेको छ। अब नेपाल रग्बीले विश्व रग्बी महासंघको पूर्ण सदस्यताको प्रक्रिया अघि बढाउन सक्षम भएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको सात वर्षपछि नेपालले पहिलो पटक उमेर समूहबाट आतिथ्यको मौका पाएको छ। शनिबार दशरथ रंगशालामा एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा पहिलो पटक एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनससिपमा पुरुष र महिला प्रतियोगिता हुँदैछ। प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको लागि उपाधि भन्दा पनि अनुभव लिने मौकाको रूपमा रहेको छ।

नेपाल रग्बी संघले एक महिना हेटौंडामा बन्द प्रशिक्षणका सहभागी यू—१८ पुरुष तथा महिला टिमका कप्तानले अनुभव लिने अवसरको रूपमा लिएको बताए। ‘एक महिनाको तयारीपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ’, पुरुष टोलीका कप्तान रोहन डंगोलले भने, ‘पहिलो पटक खेल्न लागेकाले हामी सबै उत्सहित छौँ।’ 

नेपालको महिला टिमकी कप्तान मनिषा घिसिङले एक महिनाको तयारीबाट टिम तयार भएको बताइन्। उनले पहिलो अन्तर्राष्ट्रिय सहभागिताबाट नयाँ कुरा सिक्ने अवसर रहेको बताइन्। ‘हामीले सिक्ने अवसरको रूपमा प्रतियोगितालाई लिएका छौँ। उत्कृष्ट खेल देखाउने प्रयास रहनेछ।’

नेपालका प्रशिक्षक लेभीले रग्बी सिक्ने र खेललाई चिनाउने अवसरको रूपमा नेपाललाई रहेको बताए। उनले भने, ‘यो पहिलो अन्तर्राष्ट्रिय खेल हो तर हाम्रो लागि यो प्रतियोगिता कठिन हुनेछ। रग्बीलाई चिनाउन उत्सवको रूमा खेल्नेछौँ।’

यूएई, चाइनिज ताइपेई र भारतले पनि छोटो समयमा राम्रो तयारी भएकाले उपाधिको लागि सक्षम रहेको बताए। बंगलादेशले जित हार भन्दा पनि यो प्रतियोगितालाई सिक्ने अवसरको रूपमा लिएको बताएको छ। सहभागी टिमका कप्तानले नेपालमा खेल्न उत्साहित रहेको बताए। 

पुरुषतर्फ नेपाल रहेको पुल ‘ए’ मा थाइल्याण्ड, मलेसिया र भारत छन्। नेपालले शनिवार थाइल्याण्डसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ। नेपालले शनिबार नै मलेसियासँग र थाइल्याण्डसँग पनि खेल्नेछ। पहिलो खेल बिहान ९ः२२ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन भने १२ बजे गरिनेछ। 

यस्तै पुल ‘बी’ मा दक्षिण कोरिया, बंगलादेश, यूएई र मलेसिया छन्। पुरुषतर्फ दक्षिण कोरिया, भारत र युएईले उपाधि जित्ने लक्ष्य राखेको छ। दक्षिण कोरियाले राम्रो तयारी गरेको र उपाधि जित्ने लक्ष्य राखेको छ। पुरुषतर्फ दुवै पुलका शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ। महिलातर्फ ५ टिम सहभागी छन्।

महिलातर्फ नेपाल, भारत, यूएई, थाइल्याण्ड र मलेसियाबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। महिलातर्फ नेपालले पहिलो खेल शनिबार थाइल्याण्डसँग १०ः२८ मा खेल्नेछ।

नेपालले युएईसँग शनिबार नै खेल्नेछ भने भारत र मलेसियासँग आइतबार खेल्नेछ। नेपालमा हुन लागेको एसिया रग्बी यू–१८ सेभेन्स सेभेन ए साइड प्रतियोगिता हो। यो प्रतियोगिताको हरेक खेल १४ मिनेटको हुनेछ, जसमा ७ मिनेटको दुई हाफ हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.