|
नुन आशमा स्थानीय

कुनै अति नै विकट र अविकसित स्थानको परिचय दिनुपर्दा नेपालको कर्णाली भनेर उदाहरण दिने गरिन्छ। यो उदाहरण त्यतिकै बन्न पुगेको होइन। कर्णालीको जुम्ला जिल्लाका बासिन्दाहरु अझैसम्म खाने नुनको लागि नै संघर्ष गरिरहेका छन्।

जुम्लाका बासिन्दाहरु नुन लिनको लागि घण्टौँ उकालो ओरालोको बाटो मात्रै हिड्दैनन्, बिहानदेखि साँझसम्म लाइनमा पनि उभिन्छन्।   कर्णाली राजमार्ग पुग्नुभन्दा अघि जुम्लामा नुनको राजनीतिक खिचातानी नै हुने गरेको थियो। नुन पाउनको लागि नेताहरूका घर धाउनुपर्ने अवस्था थियो। सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भए पनि सामान्य नागरिकले सहजै रुपमा नुन पाउने अवस्था भने अझै बनेको छैन। 

हप्ताको तीन दिन आइतबार, मंगलवार र बिहीबार मात्रै जुम्लीले नुन किन्न पाउँछन्। ढुवानीको मूल्यभन्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि जुम्लामा पछिल्लो समय नुनको अभाव भएको हो। 

जुम्लामा अन्य स्थानमा जस्तो सहज रुपमा पसलमा नुन किन्न पाइदैन्। सरकारले अनुदानमा दिएको भानु नुन किन्न हप्तामा ३ दिन जुम्लाका बासिन्दाहरु विभिन्न  स्थानबाट कनकासुन्दरी, नरकोट र सदरमुकामसम्म धाउँछन्। साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाले हप्तामा ३ दिन सरकारी अनुदानको नुन बिक्री गर्ने गरेको छ। 

सरकारी अनुदानको सहुलियत नुन पाउने भएकोले पनि यी ३ दिन जुम्लाको ३ स्थानमा ठूलै भीड लाग्ने गरेको छ।  तर, पछिल्लो समय जुम्लामा नुन ढुवानी गर्न समस्या भएसँगै फेरि नुनको  अभाव हुन थालेको छ। डिजल ११० रुपैँया लिटर हुँदा नुन ढुवानीको लागि सम्झौता भएको थियो। तर, हाल डिजलको मूल्य आकाशिएसँगै नुन ढुवानी गर्ने सम्झौता गरेको पक्षले नुन ढुवानीमा आनाकानी गरेको छ । जसले गर्दा जुम्लामा नुन अभावको अवस्था  सिर्जना भएको छ। 

साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्ल सहज रुपमा नुन ढुवानी नहुनुको सँगै अब नुन पाइदैन भनेर अफवाह फैलाउने काम हुँदा अप्रत्यासित रुपमा नुनको  माग बढ्नु मुख्य कारण रहेको बताउँछन्। 

‘अहिले हामीसँग केहि मात्रामा नुन भण्डारणमा छ। तर, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्विले गर्दा नुन ढुवानीमा समस्या भइरहेको छ। फेरि नुनमा चलखेल गर्न खोज्नेहरुले अफवाह फैलाइदिदा नुनको माग अत्याधिक बढेको छ ’थाहाखबरसँग उनले भने। 

मल्लको अनुसार डिपोमा कनकासुन्दरीको डिपोमा चालू आर्थिक वर्षमा एक हजार क्विन्टल नुनको कोटा रहेकोमा ५३५ क्विन्टल नुन ढुवानी भइसकेको छ।त्यस्तगरि नरकोटको डिपोमा ७ सय क्विन्टल नुनको कोटा रहेकोमा हालसम्म सबै ढुवानी भइसकेको छ भने दुईसय ५९ क्विन्टल नुन मौज्दात छ। जुम्लाको सदरमुकामस्थित डिपोमा दुई हजार पाँच सय क्विन्टल नुनको कोटा रहेकोमा ७ सय क्विन्टल मात्रै ढुवानी भएको छ भने दुईसय ११ क्विन्टल नुन मौज्दात रहेको छ। 
पेट्रोलियम  पदार्थमा मूल्यवृद्वि भए पनि ढुवानी भाडा नबढेपछि जुम्लामा नुन आपूर्ति गर्न समस्या भइरहेको उनको भनाइ छ। जसले गर्दा नियमित रुपमा नुन वितरण गर्न नसकिएको उनले  बताए। 

मल्लको अनुसार गएको बिहिबार एकैदिन जुम्लामा ७० क्विन्टल नुन बिक्री भएको थियो। बिहान ११ बजेदेखि बेलुकासम्म १४ सय जनाले ७० क्विन्टल नुन लगेको उनले जानकारी दिए। 

‘नुनको अभाव देखिएपछि एउटै परिवारको पाँचजनासम्म नुन लिन लाइनमा बस्नुहुन्छ। जसले गर्दा नुनको माग र खपत दुवै बढेको छ भने अभाव पनि देखिएको छ’,उनले भने । साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाले ९ रुपैयाँ प्रतिकिलोको दरले  प्रत्येक परिवारलाई पाँच किलो नुन वितरण गर्दै आएको छ।

जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालको अनुसार डिजल ११० रुपैँया लिटर हुँदा नुन ढुवानीको लागि सम्झौता भएको थियो।  तर, हाल डिजलको मूल्य आकाशिएसँगै नुन ढुवानी गर्ने सम्झौता गरेको पक्षले नुन ढुवानीमा आनाकानी गरेको उनले बताइन्। ‘डिजल ११० रुपैयाँ लिटर हुँदा सम्झौता भएको थियो। 

अहिले डिजलको मुल्य बढ्दा ढुवानी गर्न मानिरहेका छैनन्। नुन आवश्यक मात्रा नआउँदा अहिले यहाँ अभाव भएको छ’ उनले भनिन्।  रिजालले हप्तामा ३ दिनमात्रै नुन वितरण गर्ने गर्दा थामिनसक्नु चाँप हुने गरेको बताइन् ।

जुम्लामा गाई भैंसी,भेडा बाख्रा पालन पनि बढि हुने गरेकोले नुनको खपत बढी हुने गरेको उनको  भनाइ छ। ‘मान्छेले मात्र खाने भए पाँच किलो नुन धेरै नै हुन्थ्यो। तर, घरपालुवा जनावरको  लागि पनि त्यहि नुन प्रयोग गर्ने हुँदा हप्तामा तिनै दिन एउटै परिवारको धेरै जना नुन लिन लाइनमा लागेको देखिन्छ’ ,उनले भनिन् ‘सोचे जति नुन आउन सकेको पनि छैन, त्यसैले अभाव भइरहेको छ।’ 

प्रमुख जिल्ला अधिकारी रिजालले सरकारी अनुदानको भानु नुन अन्यत्र बिक्री गर्न नपाइने बताइन्। आयो नुन बिक्री गर्न पाइने भए पनि महङ्गो पर्ने हुँदा सरकारी अनुदानको नुन किन्ने स्थानमा नै धेरैको भीड लाग्ने गर्छ। 

उनका अनुसार सरकारले जुम्लामा वितरण गर्दै आएको अनुदानको भानु नुनमा अन्य नुनमा भन्दा आयोडीन अझ बढी हुन्छ। नुनको ढुवानी सहज नहुँदा नियमित  रुपमा नुन वितरण गर्न नसकेको भन्दै उनले हप्तामा ३ दिन नुन लिन आउनेलाई कन्ट्रोल गर्न गाह्रो पर्ने अवस्था सिर्जना हुने गरेको बताइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.