|

काठमाडौँ : सांसदहरूले संसद्‌मा कानून निर्माण गर्ने कुरामा सरकारबाटै चुनौती रहेको बताएका छन्।

मंगलवार कानूनी शासन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कानूनी शासनको प्रवर्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरूले कानूनी शासनको प्रवर्धन गर्ने कानून बनाउने विषयमा सरकारबाटै चुनौती हुने गरेको बताएका हुन्।

संविधान बनाउने सांसदहरूले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरूको आरोप छ। कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद प्रकाश पन्तले संसद्‌मा कानून बनाउने विषयमा सांसदहरूलाई सरकारले नै समस्यामा पार्ने गरेको बताए। उनले पछिल्लो समय संसद् छलेर सबै दलका सरकारले अध्यादेश ल्याउनु गलत भएको बताए।

पन्तले संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्ने मानव अधिकारसम्बन्धी विधेयकहरू समेत संसद्‌मा छलफल समेत नभई पास भएको बताए। उनले मानव अधिकार सम्बन्धी विधेयकमा सांसदहरूले संशोधन हाल्दा समेत बहुमतको आधारमा विधेयक पास भएको बताए।

त्यसैगरी राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले संसद् छलेर सरकारले अध्यादेश ल्याउँदा मुलुकलाई राम्रो नगर्ने बताइन्। उनले संसद्‌मा विभिन्न विधेयकहरूमा छलफल गर्नुअघि नागरिकहरूबीच छलफल गर्ने काम नभएको बताइन्।

उनले विधेयक तयार बनाउने समयमै कस्तो विधेयक आवश्यक हो भनेर छलफल गर्न आवश्यक रहेको चर्चा गरिन्। उनले कानून निर्माणपछि कानून कति प्रभावकारी भयो  भनेर मापन गर्ने काम नभएको गुनासो गरिन्। सांसद देवकोटाले प्रधानमन्त्रीले समेत कानूनविपरीत काम गरिरहेको बताइन्।

त्यस्तै अर्का सांसद बद्री पाण्डेले सांसद हुँदा संसद्‌मा देशको हितमा बनाएका कामका बारेमा जनतालाई जानकारी दिन जरुरी रहेको बताए। उनले संसद्‌मा अनुभवी व्यक्ति जानु आवश्यक रहेको बताए। उनले नयाँ व्यक्तिहरू संसद्‌मा जाँदा एक वर्षभन्दा समय त सिक्न लाग्ने बताए।

उनले सांसदहरूलाई विधायकको रूपमा कानून बनाउने वातावरण बनाउन आवश्यक रहेको चर्चा गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.