|

काठमाडौं : मोरक्कोको सबैभन्दा बढी जनसंख्या भएको शहर कासाब्लांकामा आफ्नै लयमा गुड्ने मेट्रो रेलको गति यतिवेला सुस्त भएको छ। सडकमा मान्छेको चाप अत्यधिक भएर मेट्रोको लिकबाट मान्छेहरूलाई हटाउँदै गुड्दा रेलको गति मन्द भएको हो।

यहाँ न कुनै आन्दोलन वा प्रदर्शन भइरहेको छ, न कुनै राजनीतिक दलको आमसभा। मोरक्को फुटबल टिमले पाएको ऐतिहासिक सफलताको खुशी मनाउन यसरी भीड जम्मा भएको हो। 

शनिबार भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगलविरुद्ध ऐतिहासिक जित रच्दा कासाब्लांकाको सडकमा लाखभन्दा बढी मोरक्कीहरू उत्रिएका थिए‚ जसले एकै स्वरमा ‘हे ओ...’ भन्दै विजय गीत गाइरहेका थिए।

कासाब्लांका मात्र होइन मोरक्कोको राजधानी रवातसहित फेस, माराकेश, मेकनेस, अगादिर लगायतका ठूला शहरसहित अफ्रिकाका अन्य देशका शहरहरूमा पनि मानिसहरू यसरी नै सडकमा उर्लिएका थिए। मोरक्को विश्वकप फुटबलको सेमिफाइनलसम्म पुग्ने पहिलो अफ्रिकी देश बन्दा महाद्वीपभरि नै खुशी छाएको हो। 

यो वर्ष अफ्रिकाबाट विश्वकपमा छनोट भएका क्यामरुन, सेनेगल, ट्युनिसिया, मोरक्को र घानामध्ये सेनेगल र मोरक्कोले मात्र अन्तिम १६ मा स्थान बनाएका थिए।

सेनेगल इंल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा मोरक्कोले स्पेनलाई हराउँदै विश्वकपको क्वार्टर फाइनल प्रवेश गर्ने चौथो अफ्रिकी देश बनेको थियो। त्यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलसम्म पुगेका थिए।

सन् १९५७ मा इराकसँग पहिलो अन्तरराष्ट्रिय फुटबल खेलेको मोरक्कोले सन् १९७० मा पहिलो पटक विश्वकप खेलेको थियो। पहिलो विश्वकपमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले सन् १९८६ मा खेलेको दोस्रो विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको थियो।

त्यसपछि खेलेका सन् १९९४, सन् १९९८ र सन् २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मोरक्कोको टोलीले यसअघि ५ विश्वकपमा खेलेका १६ मध्ये २ खेलमात्र जितेको थियो।

आफ्नो छैटौँ विश्वकप खेल्न कतार पुगेको टोलीले पहिलो खेलमा अघिल्लो पटकको उपविजेता क्रोएशियासँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेको थियो।

समूह चरणमा त्यसपछिका खेलमा बेल्जियम र क्यानडालाई पराजित गरेको टोली समूह विजेता बन्दै ३६ वर्षपछि विश्वकपको अन्तिम १६ मा स्थान बनाएको थियो।

स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको मोरक्कोले क्वार्टर फाइनलमा पनि पोर्चुगललाई १-० ले हराउँदै अफ्रिका र अरब क्षेत्रबाट सेमिफाइनल प्रवेश गर्ने पहिलो देश बनेको थियो। 

जारी प्रतियोगितामा ५ खेलमध्ये मोरक्कोले ४ खेल जितेको छ। जसमा पोर्चुगलसहित एक पटकको विश्व विजेता स्पेन र हाल फिफा वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियमसँगको खेल पनि रहेका छन्।

विपक्षीको पोस्टमा जम्मा ८ गोल प्रहार गर्दा मोरक्कोले भने अहिलेसम्म १ गोल मात्र खाएको छ। मोरक्कोका लागि सेमिफाइनलसम्मको यात्राले यो विश्वकप अहिलेसम्मकै सफल र ऐतिहासिक बनाए पनि अब भने मोरक्कोको नजर विश्वकप उपाधिमा रहेको छ।

यस्तो छ मोरक्को-फ्रान्सबीचको खेल इतिहास

फाइनल प्रवेशका लागि मोरक्कोले भोलि (बुधबार) राति साविक विजेता फ्रान्ससँग सेमिफाइनल खेल्नेछ। सन् १९६३ मा पहिलो पटक फ्रान्सको सामना गर्दा मोरक्कोले फ्रान्सलाई पराजयको स्वाद चखाएको थियो।

त्यसपछि फ्रान्ससँग भएका १० खेलमा भने मोरक्कोले एउटै खेल पनि जित्न सकेको छैन। ७ खेलमा मोरक्को पराजित हुँदा ३ खेल बराबरीमा टुंगिएका छन्।

पछिल्लो पटक फ्रान्स र मोरक्को सन् २००७ मा खेलेका थिए। मैत्रीपूर्ण उक्त खेल २-२ को बराबरीमा टुंगिएको थियो। फ्रान्स र मोरक्को विश्वकपमा भने पहिलो पटक भिड्न लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.