सञ्चालकलाई जिल्ला अदालत पठाउने तयारी

|

काठमाडौँ : भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजले अवैध रूपमा कलेज सञ्चालन गरी भर्ना शुल्क लिएर ठगेको पाएपछि त्यहाँका विद्यार्थी सडकमा उत्रिएका छन्। उनीहरूले बुधवार माइतीघर मण्डलामा ‘शिक्षामा अधिकार सुनिश्चत गर, हाम्रो माग पूरा गर, प्रहरी दमन बन्द गर’ लगायत नारा लगाउँदै विरोध प्रदर्शन गरे।

कलेज सञ्चालक प्रकाश सुवाललाई कानुनी कारबाही गर्नुपर्ने र भर्ना शुल्क तत्काल फिर्ता गरिनुपर्ने उनीहरूको माग छ। ‘कलेजले अवैध रूपमा सञ्चालन गरी हाम्रो भविष्य अलपत्र पारेको छ। सम्बन्धित निकायबाट हाम्रो समस्या सुनुवाइ हुनुपर्छ’, आन्दोलनमा आएका एक विद्यार्थीले भने।

सम्बन्धित निकायबाट सम्बन्धन नलिई शैक्षिक कार्यक्रम सञ्चालन गरेको थाहा पाएपछि उनीहरूले मंसिर १३ गते कलेजका सञ्चालक सुवालविरुद्ध प्रहरीवृत्त जगातीमा उजुरी दिएका थिए। उजुरीपछि सोही दिन प्रहरीले सुवाललाई पक्राउ गरेको थियो। अहिले उनलाई ठगी मुद्दामा जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले १३ मंसिरमै उक्त कलेजमा ताला लगाएको थियो। उक्त कलेजको बेवसाइटमा सन् २०१९ बाट कलेज खुलेको उल्लेख छ। एनइबी,डिप्लोमा तहमा इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, स्नातक तहमा बीबीएस, कानुन, माष्टर्स कार्यक्रममा बिजिनेस, एमसिए, टुरिजम लगायत विषय राखिएको छ।

इन्जिनियरिङ प्रोग्राम छ। त्यसैगरी मेडिकलतर्फ बीडीएस, एमबीबीएस, नर्सिङ साइन्स, फार्मेसी, पब्लिक हेल्थ लगायत विषय पढाइ हुने कलेजको दाबी छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सुवाल कलेजले यी कुनै शैक्षिक कार्यक्रम सञ्चालनका लागि मन्त्रालयबाट अनुमति नलिएको स्पष्ट पारेका छन्।

त्यसैगरी चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अनुपमचन्द्र श्रेष्ठले पनि चिकित्सा विषयको कुनै स्वीकृति नलिएको जानकारी दिए। उनका अनुसार  मेडिकल विषयको हकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ ऐन जारी भयो।

यो ऐन जारी भइसकेपछि स्नातकभन्दा माथिका पढाइका लागि आयोगले लिएको कमन इन्ट्रान्स पास गरेको व्यक्ति मात्रै पढ्न पाउँछन्। यो ऐन जारी भएको मितिले १० वर्षसम्म उपत्यकाभित्र कुनै पनि मेडिकल कलेज सम्बन्धन दिन पाइँदैन। 

सञ्चालक सुवाललाई जिल्ला अदालत पठाउने तयारी

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले पक्राउ परेका सुवाललाई जिल्ला अदालत भक्तपुरमा पठाउने जानकारी दिए। ‘हामीले त्यो कलेजले जुन–जुन सम्बन्धित निकायमा सम्बन्धन लिनुपर्ने हो। त्यो कार्यालयमा लिखित रूपमा पत्र पठाएर त्यहाँबाट लिखित जवाफ प्राप्त गरेका छौँ। त्यही जवाफलाई आधार मानेर जे देखेका छौँ। त्यसैलाई उल्लेख गरेर माग दाबी लिएर जिल्ला अदालत बुझाउनेछौँ। अब छिट्टै बुझाउने तयारी छ’, उनले थाहाखबरसँग भने।


उनका अनुसार उक्त कलेजमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन्। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ को (१) मा कसैले ठगी गर्न वा गराउन नहुने व्यवस्था छ। ठगी गर्ने व्यक्तिलाई  सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

कलेज सञ्चालकलाई कारबाही हुनुपर्छ : अभिभावक

अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति विद्यार्थीहरूलाई ठगी गर्ने उक्त कलेजका सञ्चालकलाई कारबाहीको माग गर्दै सरकारलाई दबाब दिइरहेको बताउँछन्।

‘हामीले त स्वीकृति लिएर नै कलेज सञ्चालनमा आएको होला भन्ठानेका थियौँ‚ होइन रहेछ। अहिले अनुसन्धान हुँदै छ, हामीले पनि दबाब दिँदै आएका छौँ। त्यहाँका अभिभावकसँग तत्काल बसेर छलफल गरेर अरू के गर्ने भनेर निर्णय गर्ने छौँ’, उनले भने।

उक्त कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका अनुसार मेडिकल विषयको पढाइ गत कात्तिक महिनाबाट कक्षा सञ्चालन भएको हो। नर्सिङ, फार्मेसी र एचएमा २ सयभन्दा बढी विद्यार्थी कलेजले भर्ना गरेर प्रतिविद्यार्थी ७५ हजारका दरले शुल्क उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.