|

खोटाङ : नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले पत्रकारलाई आइपर्ने कानूनी समस्या समाधान गर्न वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न पहल गर्ने भएको  छ। महासङ्घको १० औँ साधारणसभाले कानूनी समस्या आइपरेमा पत्रकारको सहयोगका लागि वैतानिक कानून व्यवसायी राख्ने व्यवस्था गर्न महासङ्घको प्रदेश र केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।

समाचार सम्प्रेषण गरेबापत कतिपय पत्रकारलाई ‘साइवर क्राइम’को मुद्दा लगाएर पक्राउ गर्ने गरिएकाले वैतनिक कानून व्यवसायीको माग उठाइएको शाखा अध्यक्ष दिलीप खत्रीले बताए। ‘पछिल्लो समय देशभरका पत्रकार समाचारका विषयलाई लिएर ‘साइवर क्राइम’ सहित अन्य कानूनी झमेलामा फस्दै गएका छन्,’उनले भने,‘झमेलामा फसेका पत्रकारको सहयोगार्थ वैतनिक कानून व्यवसायीको आवश्यकता साधारणसभामा औँल्याइएकाले महासङ्घको प्रदेश र केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरिएको हो।’

साधारणसभाले तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रु एक लाखबाट पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने, कोष सञ्चालनका लागि सञ्चालक समिति गठन र कार्यविधि निर्माण गर्ने, कोषको राशि वृद्धि गर्दै जाने, प्राप्त ब्याजबाट हरेक वर्ष साधारणसभामा एक क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

यसैगरी महासङ्घको नयाँ पक्की भवन निर्माणका लागि दिक्तेलबजारभित्र आवश्यक जग्गा खोजी गर्ने, जग्गा प्राप्त नभए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा साविक दिक्तेल–६० मा महासङ्घकै नाममा रहेको पुरानो कच्ची भवन हटाएर पक्की भवन निर्माणको प्रक्रिया अगाडि बढाउनेपनि निर्णय गरिएको छ।

यस्तै,पत्रकारको हितका लागि स्थापना गरिएको पत्रकार आपतकालीन सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गर्ने, सूचना केन्द्र तथा ई–लाइब्रेरी सञ्चालनका लागि महासङ्घको प्रदेश र केन्द्रीय समिति, प्रेस काउन्सिल, नेपाल प्रेस इन्स्टिच्यूट, खोज पत्रकारिता केन्द्रलगायतसँग समन्वय गर्ने, महासङ्घ जिल्ला शाखाको मातहतमा रहने गरी कुनै पनि व्यक्ति वा संस्थाले पुरस्कार कोष स्थापना गर्न चाहेमा कोष खुला गर्ने, जिल्लाका समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दीर्घकालीनरुपमा  टिकिरहने अवस्था सिर्जना गर्न योजना निर्माण गर्ने निर्णय गरिएको छ।

यसैगरी पत्रकारको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने तथा निरन्तर पत्रकारिता गरिरहेका पत्रकारलाई खोज पत्रकारितातर्फ प्रोत्साहित गर्न तालिम सञ्चालन गर्ने, जिल्लाका पत्रकारको  दुर्घटना बीमा गर्ने, प्रेस प्रतिनिधि कार्ड लिन, सूचना तथा प्रसारण विभागमा तोकिएको समयमा अनलाइन नवीकरणका लागि पहल गर्नेलगाय निर्णय पनि गरिएको छ। साधारणसभा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ र प्रदेशसभा सदस्य पाँचकर्ण राई पिके’को सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.