|

सुर्खेत : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गापाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।

सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’‚ मुख्यमन्त्री शाहीले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरू आवश्यकता पनि पूरा हुँदै जान्छन्।’

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रूपमा सडक सञ्जालसँग जोडेको बताइन्। ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत ४.५ मिटर चौडा मोटरेबल लिंक रोडले पैदल बाटोलाई प्रतिस्थापन गरेको छ’‚ पोलिटले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो।’

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ। ६७ किलोमिटर सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ। यो सडकमा चारवटा पुल बनाइएका छन्।

राजदूत पोलिटले सडक बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण भएको बताइन्। ‘यो परियोजनाको सफल समापनले स्थानीय जनता, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाउँछ’‚ उनले भनिन्।

राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको बताइन्।

सडक निर्माणका क्रममा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी भएको उनले जानकारी दिइन्।

‘महिलालाई पनि पुरुष सरह ज्याला दिएर काममा लगाइएको थियो’‚ उनले भनिन्, ‘सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखभन्दा बढी आम्दानी गर्न पनि सफल भएका थिए।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.