काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको चार वर्ष अगाडिको संवाद यतिबेला बहसको विषय बनेको छ।
महिला सशक्तीकरण र बलात्कारबारे सन् २०१९ मा एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताले अहिले चर्चा पाएको हो। सामाजिक सञ्जालहरूमा भिडियोको स–सानो 'क्लिप' काटेर चर्को विरोध गर्न थालिएको छ। तर, उनको पुरा भिडियो हेर्ने दर्शकहरूले गलत नियतले 'क्लिप' भाइरल गराइएको आरोप लगाएका छन्।
गौतमले पुरानो आफ्नो अभिव्यक्तिलाई लिएर पश्चाताप गरेकी छन्। अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ। अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ।’
'नेक्स्ट रिभोलुसन' नामक युट्युब च्यानलबाट प्रशारण भएको उक्त अन्तर्वार्तामा सोविताको व्यक्तिगत र महिला सशक्तीकरणका विषयमा कुराकानी गरिएको छ। नेपाल टेलिभिजनमा जागिरे जीवन बिताउँदै गरेकी गौतमसँग अन्तर्वार्ताकारले महिला हक हितका विषयमा कुराकानी गरेका छन्।
गौतमले पछिल्लो समय विश्वभर नै बहसको विषय बनिरहेको बलात्कारबारे आफ्नो धारणा राखेकी छन्। उनले महिला अधिकारको कुराभन्दा पनि महिला सशक्तीकरणको कुराको विषयलाई जोड दिएकी छन्।
उनले भनेकी छन्, ‘कहिले पनि महिलाले म बलियो छु र कसैको सहाराबिना बाँच्न सक्छु भन्ने सोच्न सकेनौं। त्यही कारणले गर्दा हामी पछाडि छौं।’
कुराकानी सुरूवातमा गौतमले बलात्कारबारे आफूले व्याख्य गरे दर्शकहरूबाट गाली पाउने विषयमा सतर्क हुँदै भनेकी छन्, ‘मलाई व्यक्तिगत रूपमा के लाग्छ भने बलात्कार भनेको भावनासँग जोडिएको विषय हो। त्यो भएको कारणले यसलाई एकदमै ठूलो ‘ग्लोरिफाइ’ गरिन्छ क्या! के के न भएजस्तो गरिन्छ।’ तर, उनले यतिमै बलात्कारबारेको विषयलाई टुंग्याएकी छैनन्। गौतमले बलात्कार र अपाङ्गताको विषयलाई तुलना गरेर पनि थप प्रष्ट्याउने प्रयत्न गरेकी छिन्।
बलात्कारका विषयमा सिलसिलाबद्ध घटना भएको हुने उल्लेख गर्दै उनले बलात्कृत महिलाको शरीरमा कुनै हानी–नोक्सानी भएको छैन भने बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा कुनै पनि फरक नरहेको बताएकी छन्।
गौतमको यही क्लिन अहिले भाइरल बनिरहेको छ। उनले बलात्कारलाई झापडसँग तुलना गरेपछि गौतमको चौतर्फी विरोध भएको हो।
‘बलात्कृत हुनु पनि एउटा घटना थियो, झापड हान्नु पनि एउटा घटना थियो। दुवै महिला हिंसा अन्तर्गत पर्ने कुरा हुन्। बलात्कृत भन्ने बित्तिकै छि:छि दुरदुर गर्नुपर्ने अवस्था पनि हुँदैन, विचरा भन्नुपर्ने पनि अवस्था पनि छैन,’ उनले भनेकी छन्।
गाैतमले बलात्कृत भएको, झापड हानेको र कसैले हातखुट्टा भाँचिदिएको समान घटनाहरू उल्लेख गरेकी छन्।
‘बलात्कार भएको एकदमै ठूलो जघन्य अपराध, अनि कसैले हातखुट्टा काटिदियो भने सामान्य अपराध भनेर हामीले नहेरौं। नेपाली समाजमा महिलाहरू र महिला अधिकारवादीहरूले बढी नै फोकस गरेर समाचारपत्रमा यत्रो ठूलो हेडलाइन राखिने गरिन्छ। बलात्कार भन्ने शब्दलाई एकदमै ठूलो खत्रा शब्द मान्न थालिसक्यौं। अलिकति जनरलाइज गरेर सामान्य हो भनेर ट्रिट गर्यौं भने पुनःस्थापना हुन महिलाहरूलाई सजिलो हुन्छ जस्तो लाग्छ’, उनले भनेकी छन्।
उक्त संवादमा गौतमले के कुरा गरेकी छन्? हामीले जस्ताको तस्तै उतारेका छौँ :
पुरुषप्रधान समाज र महिला सशक्तीकरण
महिला अधिकारको कुराभन्दा पनि महिला सशक्तीकरणको कुराको विषयलाई जोड दिने गर्छु। मैले आफ्नो अधिकार कसैलाई पनि राख्न दिएको छैन। म एउटा स्वतन्त्र नागरिक। त्यसैले म आफैं स्वतन्त्र छु र के गर्ने, के नगर्ने भन्ने ममा निर्भर छ।
नेपालको कानुनले र संविधानले सबैलाई बराबर अधिकार दिएको छ। मैले कसैलाई अधिकार दिएको छैन। मैले गर्ने भनेको कुरा चाहिँ महिला सशक्तीकरण हो। हामी आफैंभित्र कमजोर भयौँ। कहिले पनि महिलाले म बलियो छु र कसैको सहाराबिना बाँच्न सक्छु भन्ने कहिल्यै सोच्न सकेनौँ। त्यही कारणले गर्दा हामी पछाडि छौँ।
बलात्कार
बलात्कारको विषयमा मैले व्याख्या गरें भने कत्ति दर्शकहरूबाट नराम्रो कमेन्ट आउनसक्छ। तर, मलाई व्यक्तिगत रूपमा के लाग्छ भने बलात्कार भनेको भावनासँग जोडिएको विषय हो। त्यो भएको कारणले यसलाई एकदमै ठूलो ‘ग्लोरिफाइ’ गरिन्छ क्या! के के न भएजस्तो गरिन्छ।
नाबालिका बलात्कार
बलात्कारको विषय जहाँ उठ्छ म त्यहाँ भन्ने गर्छु– बलात्कार एक–दुईवटा केस मात्रै ‘एक्सिडेन्टली’ हुन्छन्। झ्याप्प केटी देख्यो, समायो। बलात्कारका कुराहरू। त्यो एकदमै दुर्लभ केस हुन्छ।
बलात्कारका विषयमा सिलसिलाबद्ध घटना भएको हुन्छ। पहिलो चरणमा केटी जिस्काउने हुन्छ। ‘ओ मैया के छ’ भनेर जिस्काउनेदेखि लिएर फलो गर्ने हुन सक्छ। तर, नेपाली समाजमा के हुन्छ भने हामी महिला पहिलो इन्सिडेन्ट सुरू हुँदा नै रोक्न खोज्दैनौं।
बुवाआमा र समाजले पनि रोक्न खोज्दैन। जिस्क्यायो भने ए छोड्दे यो त्यस्तै हो भनेर छोड्ने गरिन्छ। तर, हामी महिलाले त्यो प्वाइन्टमा नै स्टप हुन सक्नुपर्छ। किन जिस्कायो त ? मलाई जिस्काउनु नै दुर्व्यवहार हो भनेर बुझ्नुपर्छ। मलाई दुर्व्यवहार गर्ने अधिकार कसैलाई पनि छैन। त्यो प्वाइन्टमा स्टप हुन सक्नुपर्छ।
मानौं, कसैमाथि बलात्कार भयो। अब त्यसलाई के गर्ने भन्ने कुराहरू आउँछन्। पुनःस्थापनाको कुरा आउँछ। बलात्कार भएपछि एक त त्यो पीडित स्वयंले म बलात्कृत भएँ र मेरो जीवन सकियो भन्ने सोच्न थाल्छिन्।
अर्को कुरा, समाजले पनि ‘बिचरा त्यो बलात्कृत भइ, अब त्यसलाई कसले बिहे गर्ने, त्यसको लाइफ सकियो’ भन्ने दृष्टिकोण बनाउँछ। तर म चाहिँ के भन्छु भने यदि त्यो बलात्कृत महिलाको शरीरमा कुनै हानी–नोक्सानी भएको छैन भने बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा हुनै पनि फरक छैन।
बलात्कृत हुनु पनि एउटा घटना थियो, झापड हान्नु पनि एउटा घटना थियो। दुवै महिला हिंसा अन्तर्गत पर्ने कुरा हुन्। बलात्कृत भयो, तर शरीरमा कुनै हानी–नोक्सानी छैन, दीर्घकालीन असर छैन भने उनी सजिलै ‘मुभ अन’ हुन सक्नुपर्छ। त्यसपछि उसको जिन्दगी स्वतन्त्र छ नि!।
उनले जिन्दगीमा जे पनि गर्न सक्छिन्। तर, हामी समाजमा उ कामै नलाग्ने भइ, उसको जिन्दगी सकियो जसरी ट्रिट गर्छौं। त्यसैले हामीले कन्सेप्ट पनि बदल्नुपर्ने अवस्था छ। बलात्कृत भन्नेबितिक्कै छि:छि दुरदुर गर्नुपर्ने अवस्था पनि हुँदैन, विचरा भन्नुपर्ने अवस्था पनि छैन।
बलात्कृत भएको, झापड हानेको र कसैले हातखुट्टा भाँचिदिएको इक्वेल घटनाहरू हुन्। त्यसलाई हामीले इक्वेल्लि(समान रुपले) हेर्नुपर्छ। बलात्कार भएको एकदमै ठूलो जघन्य अपराध, अनि कसैले हातखुट्टा काटिदियो भने सामान्य अपराध भनेर हामीले नहेरौं।
नेपाली समाजमा महिलाहरू र महिला अधिकारवादीहरूले बढी नै फोकस गरेर समाचारपत्रमा यत्रो ठूलो हेडलाइन राखिने गरिन्छ। बलात्कार भन्ने शब्दलाई एकदमै ठूलो खत्रा शब्द मान्न थालिसक्यौं। अलिकति जनरलाइज्ड (सामान्यीकरण) गरेर सामान्य हो भनेर ट्रिट गर्यौं भने पुनःस्थापना हुन महिलाहरूलाई सजिलो हुन्छ जस्तो लाग्छ।
बलात्कार ठूलो कुरा होइन। उसको शरीरमा कुनै पनि हानी नोक्सानी भएको छैन भने यो सामान्य विषय हो। म आफ्नै उदाहरण दिन चाहन्छु। मलाई कसैले बलात्कार गर्यो। अर्को सिनारियो कुनै व्यक्तिले आएर मेरो खुट्टा काटिदियो। अब दुईवटा घटनालाई तपाईंँ कम्पियर (तुलना) गरेर हेर्नुहोस्।
म बलात्कृत महिला धेरै बिचरा भएँ वा कसैले मेरो खुट्टा काटिदियो त्यो सोविता विचरा भइ? यसरी हेर्दा खुट्टा काटिदिएको जघन्य अपराध हो नि त! खुट्टा काटिदिएपछि त जिन्दगीभरी के गर्ने? मेरो जिन्दगी सकियो भन्ने। तर, बलात्कृत हुँदैमा पुनर्स्थापित हुन कुनै पनि गाह्रो छैन। किनकी हाम्रो शरीरमा कुनै पनि हानी नोक्सानी हुँदैन र त्यसले दिर्घकालीन असर केही पार्दैन भने सजिलो छ।
खाली समाजले बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो, ग्लोरिफाइ गरिदियो यसकै नाममा डलरहरू ल्याउने काम भयो। समाजमा बलात्कार भन्नेबित्तिकै ग्लोरिफाइ गरिदिएको कारणले महिलाहरू बढी भावुक भएको जस्तो लाग्छ। यसलाई सामान्यीकरण गर्न जरूरी छ।
फाँसीको सजाय उपयुक्त होइन
म कानुनको विद्यार्थी भएको र महिला अधिकारको कुरा गर्ने भएकोले फाँसी भनेको मान्छेको जिन्दगी सकिने कुरा हो। फाँसी दिँदै गर्दा त्यो व्यक्ति पूर्ण अपराधी हो कि होइन भन्ने कुरा निर्क्यौल गर्न सक्नुपर्छ।
नेपालसहित अन्य जुनसुकै ठाउँमा प्रमाण पुर्याउने कुरा पूर्वाग्रही हुन सक्छ। आज त्यो दोषी हो भनेर विभिन्न न्यूज मिडियामा एउटा व्यक्ति आइरहेको हुन्छ। भोलि त्यो होइन रे भनेर आइरहेको हुन्छ। यस्तो अवस्थामा कसैले फाँसीको सजाय पायो र यदि भोलि उ दोषी होइन रहेछ भने थाहा पाउँदा त्यो व्यक्तिको जिन्दगी सकियो।
फर्काएर ल्याउन सकिँदैन। अर्को तर्क, हरेक व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार हुन्छ। जन्म भनेको प्रकृतिले दिएको वरदान हो। कसैको जीवन अरू कसैले मार्न हुँदैन। जन्मि सकेपछि उसलाई कसैले पनि मार्न सक्दैन, प्रकृतिले नै मार्नुपर्छ। यो प्रकृतिको सिद्धान्त नै हो।
यो हिसाबले हेर्दा फाँसीको सजाय उपयुक्त होइन। कसैले फाँसीको सजाय पायो भने उसको परिवारले पनि प्रतिशोध लिने सोच्छ। मेरो भाइ फाँसीमा मर्यौ यसलाई किन छोड्ने भन्ने प्रतिशोध आउन सक्छ। प्रतिशोधमाथि प्रतिशोध थपिँदै जान्छ। त्यसैले बलात्कार हुने बित्तिकै त्यसलाई फाँसी नै दिनुपर्छ भन्ने छैन। अपराध हुँदा हामीले नियतवश कि नियतबिना हेर्नुपर्छ।
हामीले कानुनको भाषामा ‘मिन्सरिया’ भन्छौँ। कुनै अपराध भइरहँदा नाबालिग र वृद्धा बलात्कृत हुनुभएको छ। मान्छेको मानसिक अवस्था बिग्रिएको हो कि जस्तो लाग्छ।
बलात्कारबारे सचेतना कार्यक्रम
नियतकै हिसाबले हेर्दाखेरी त कोही राम्री केटीलाई बलात्कार गर्नु नियतवश हुन सक्छ। तर यत्रो सानो दुधे बालिकालाई वा ८० वर्षको वृद्धालाई बलात्कार गर्नेलाई के भन्ने ? मानसिक अवस्था नै खराब हो जस्तो लाग्छ। त्यो हिसाबले हेर्दा फाँसी होइन, उसलाई सुधारगृह पठाउनुपर्छ। मानसिक अवस्थाको हकमा सचेतना कार्यक्रम सञ्चालन गुर्नपर्ने देखिन्छ।
जति पनि समाजमा बलात्कार र यौन दुर्व्यवहार भएका छन्, बाहिरका व्यक्तिले भन्दा पनि आफ्नै घर वरिपरिका व्यक्तिहरूले दुर्व्यवहार गरेका छन्। त्यो हेर्दा हामी नजिककै मान्छेले हामीलाई युज गरिरहेको छ। उसलाई त्यही प्वाइन्टमा स्टप गर्नुपर्छ जुन प्वाइन्टमा सुरू हुन्छ। तर हामी महिलाहरू डराउँछौं। बालिकाहरू ‘बाबा, हामीलाई स्कुलमा सरले दुर्व्यवहार गर्नुहुन्छ’ भन्न डराउँछन्। यसले दुर्व्यवहार गर्नेको मनोबल झन् बढ्छ।
यस्तो घटना हाम्रो घरमा रहेको छ। त्यसैले अब हरेक बाबुआमाले ‘छोरी, तिमीलाई अफिसमा स्कुलमा, कलेजमा, छिमेक, घरमा कसैले दुर्व्यवहार गरेको छ ? भनेर सोधिदिनुहोला।
यत्ति सोधिदिनुभयो भने वास्तविक अवस्था के छ? भनेर थाहा पाउने गर्छाैं। भन्न नसक्नुभएको हुन पनि सक्छ। कतिपय कुराहरू मनभित्र हुन्छ। व्यक्त गर्न सकेको हुँदैन। यो कुराहरूलाई तपाईँहरूले सहजीकरण गरिदिनुपर्यो। बल्ल हाम्रो समाज सुव्यवस्थित हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।