|

विश्वकप फुटबलको फाइनल खेल बाँकी रहँदा अहिले कतार विश्वकपको समीक्षा शुरु भइसकेको छ। कतार विश्वकप घोषणाको १२ वर्ष विवादै विवादमा परेको यो सानो अरब राष्ट्रले भौतिक पूर्वाधारमा गरेको अकल्पनीय फड्कोका कारण सम्भव भएको विश्वकप २०२२ समापननजिक छ। 

तर पनि पश्चिमा मिडियाहरूले कतारको आलोचना गर्न छाडेका छैनन्। मिडियाले र मानवअधिकारवादीले कतार विश्वकप साँच्चिकै खराब विश्वकप भएको उपमा दिँदै गर्दा फुटबलका स्टेकहोल्डरहरूले भने कतार विश्वकप अहिलेसम्मकै सफल भएको दाबी गरिरहेका छन्। जसमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो सर्वाधिक अघि छन्। 

उनले कतारले विश्वकपकै लागि गरेको यो मिहिनेतको मुक्त कण्ठले प्रशंसा गरिरहेका छन्। त्यसो त विश्वकपअघि खेलाडीले विश्वकपमा गर्न सक्ने सांकेतिक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै इन्फान्टिनोले खेलाडीलाई खेलमा केन्द्रित हुन निर्देशन नै दिएका थिए।

उनले फाइनलअघिको पत्रकार सम्मेलनमा कतार विश्वकप भौतिक पूर्वाधारका हिसाबले मात्र होइन प्रतिस्पर्धाका हिसाबले पनि अहिलेसम्मकै उत्कृष्ट भएको प्रतिक्रिया दिए। 

उनले यो विश्वकपको समूह चरणमा भएको प्रदर्शनका कारण सन् २०२६ को फर्म्याटबारे पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको दाबीसमेत गरे। उनले सन् २०२६ मा युएसए, मेक्सिको र क्यानडामा हुने तय भएको विश्वकपका लागि तयार गरिएको फर्म्याटलाई पुनर्विचार गर्न अर्को बैठकमा मुख्य एजेण्डाकै रुपमा अघि सार्ने उदघोषसमेत गरे। 

आगामी विश्वकपमा ३२ टिमबाट बढाएर ४८ टिम पुर्‍याइनेछ र जहाँबाट १६ समूहमा विभाजन गरी हरेक समूहमा ३ टिम राखेर शीर्ष दुई टिमलाई अन्तिम ३२ मा लग्ने गरी फर्म्याट निर्धारण गरिनसक्ने उनको भनाई थियो।

इन्फान्टिनोले सन् २०२२ को विश्वकपबाट ४ टिमको समूहमा भएको प्रतिस्पर्धा र अन्तिम मिनेटसम्म कुन टिम नकआउटमा पुग्लान् भन्ने कौतुहलताले विश्वकपको रोमाञ्चकता अहिलेसम्मकै उत्कृष्ट बनाएको दाबी गरे। 

उनले विश्वकपको समूह चरणको अन्तिम खेल अन्तिम मिनेटसम्म रोमाञ्चक भएको भन्दै सन् २०२६ को विश्वकपमा पनि हरेक समूहमा ४ टिम राखेर नै प्रतिस्पर्धा गराउनेबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।

इन्फान्टिनोले भने‚ ‘यहाँ ४ देशको समूह साँच्चिकै अविश्वसनीय देखियो। अन्तिम खेलको अन्तिम मिनेटसम्म पनि कुन देश नकआउटमा पुग्ला भन्ने अनुमान गर्न सक्ने अवस्था थिएन।’ 

इन्फान्टिनोले समूह चरणमा कुनै पनि टिमले शतप्रतिशत जित आत्मसात गर्न नसक्नुले फुटबलको लोकप्रियता प्रस्ट हुने समेत बताए। उनले भने‚ ’अविश्वसनीय प्रतिस्पर्धा भयो। त्यसैले आगामी विश्वकपको बारेमा तोकिएको फर्म्याटका बारेमा पुनर्विचार गरेर अघि बढ्नुपर्ने एजेन्डा आगामी बैठकको मुख्य एजेन्डाका रुपमा प्रवेश पाउनेछ।’ 

कतार विश्वकपमा हरेक समूहमा ४ टिम राखेर प्रतिस्पर्धा गराइएको थियो। जहाँबाट शीर्ष २ टिमले नकआउट चरणमा स्थान बनाएका थिए। विश्वकपमा ३२ देशको सहभागितासँगै यो फर्म्याट सन् १९९८ यता जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.