|

रौतहट : रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानहरू कौडीको मूल्यमा उखु सक्खर उद्योगलाई बेच्न थालेका छन्।

नगदे बालीको रुपमा रहेको उखु बालीलाई अहिले कुनै बजार मूल्य नपाउँदा किसानहरु कौडीको मूल्यमा सक्खर उत्पादन गर्ने उद्योगलाई उखु बेच्न बाध्य भएका हुन्।

सरकारले यसवर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानहरुले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल ३ सय देखि ४ सय रुपैयाँ सम्मका दरले उखु बेच्न थालेका छन्।

चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको गढीमाई नगरपालिका वडा नं–२ हथिऔलका किसान राजदेव दासले बताए। 

खेतमा सिँचाइको आभावका कारण अन्य कुनै बालीनाली उब्जाउन नसकिएको कारण वर्षेनी उखु खेती गर्दै आए पनि यसमा कुनै फाइदा हुँदैन दास भन्छन्, 'उब्जाइएको उखु पनि सक्खर उद्योगले न्यून मूल्य निर्धारण गरेर लिने गरेकोले बाध्य भएर बेच्ने गरेको छु।'

गढीमाई नगरपालिकाभर हाल एक दर्जन सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेको छन्। उद्योग सञ्चालकहरुले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन्।

उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि ३ सय रुपैयाँ प्रतिक्विन्टल हुन्छ खपत बढी भयो भने ४ सयदेखि साढे चार सय सम्ममा उखु लिने गरेका छन्। 

१२ क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन  हुँदै आएको गढीमाई नगरपालिका २ का अर्का सक्खर उत्पादन व्यवसायी रामेश्वर दासले बताए।

उत्पादित सक्खर मध्ये कालो सक्खरको ५ हजार र सेतो सक्खरको ६ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको उनले जानकारी दिए। आफ्नो उद्योगमा प्रत्यक्ष रुपमा ७ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएको उनको भनाइ थियो।

भारतबाट अवैध रुपले आउने सक्खर (गुड) का कारण आफ्नो व्यवसाय नै घरासायी बन्दै गएको गढीमाई नगरपालिका वडा नं–२ स्थित सञ्चालनमा रहेको सुसारत गुड उद्योगका सञ्चालक रामप्रवेश दासले सक्खरले बजार मुल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको बताए।

भारतबाट आएको सक्खर सस्तो मुल्यमा बिक्री वितरण गर्दा आफुहरुले पनि सोही अनुसार उत्पादन गरिएको सक्खर बेच्नु परेकोले लगानी अनुसारको मूल्य आउन सकेको छैन्। किसानहरुले खेतमा लगाएको उखु बाली बेचेर अहिले पुन मसुरो लगायतका रवि बाली लगाउन सकिने भएकाले हतार हतारमा उखु बेच्ने गरेको पाईएको छ।

समय हुँदा उखु बेचेर आएको पैसाले अन्य बाली लगाउन सकिने भएकाले कौडीकै मूल्य पाए पनि बेच्ने गरेको किसानहरु सामूहिक रूपमै बताउँछन्।

रौतहटमा उत्पादति सक्खर जिल्लाकै विभिन्न स्थानबाट आएका व्यवसायीहरूले लग्ने गरेका छन्। माघे संक्रान्ति आउन केही समय भए पनि उद्योगी र व्यापारीहरूले सक्खर खरिद गरी स्टक गर्दे आएका छन्।

सक्खर उत्पादनका लागि करिब दुई महिना मात्र उँखु क्रसिङ हुने उद्योगीहरुको भनाइ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.