|

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेसँगै सरकार निर्माणले गति लिएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको समय दिएर दलहरूलाई सरकार निर्माणका लागि आह्वान गरेकी छन्। 

सोहीबमोजिम दलहरूले आन्तरिक छलफललाई तीव्र बनाउँदै लगेका छन्। नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढेसँगै राष्ट्रपतिका लागि पनि ‘लबिइङ’ शुरू भएको छ।

सत्ता गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा नमिले पनि गठबन्धनमा आबद्ध दलका नेताहरूले राष्ट्रपतिका लागि शीर्ष नेताहरूसँग ‘लबिइङ’ शुरू गरेका हुन्। गठबन्धनभित्रका करिब आधा दर्जन नेताहरूले राष्ट्रपतिमा आकांक्षा देखाएका छन्। राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ र मानबहादुर विकले आकांक्षा देखाएका छन्। 

नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रबाट हालका उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले पनि राष्ट्रपतिमा आकांक्षा देखाएका छन्। 

कांग्रेसबाट को–को दौडमा?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सार्वजनिक कार्यक्रमहरूमा भन्थे‚ ‘देशले मलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको छ।’ सोहीअनुसार तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका पौडेलले प्रधानमन्त्री बन्न नेताहरूसँग लबिइङ शुरू गरे।

उनले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गर्दै कहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निवास त कहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारसम्म पुगे। तर उनीहरूबाट सन्तोषजनक आश्वासन नपाएपछि अहिले ‘मत्थर’ भएका छन्। उनी अहिले बालुवाटार केन्द्रित भएका छन्।

आफ्नै पार्टीभित्र पर्याप्त छलफल नगरी अन्य दलसँग नजिकिएका पौडेलको प्रधानमन्त्री ‘सपना’ पनि तुहिएको छ। किनकि प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र माओवादी अध्यक्ष प्रचण्डबीच रस्साकस्सी शुरू भएपछि पौडेल ‘ब्याक’ भएका हुन्।

उनी अहिले राष्ट्रपतिको लाइनमा लागेका छन्। पौडेल आफूले कार्यकारी पद नपाए पनि 'सेरेमोनियल' राष्ट्रपति बनाइदिन याचना गर्दै प्रधानमन्त्री निवास बालुवाटार धाउन थालेका छन्।

सार्वजनिक रूपमा प्रधानमन्त्रीको रटान भने लगाउन नछोडेका पौडेल भित्री रूपमा राष्ट्रपति बन्ने लबिइङमा लागेको पौडेलनिकट स्रोतले जानकारी दियो। उनले हामीसँग पनि आफू सहमतिमा प्रधानमन्त्री बन्ने दाबी गर्न छोडेनन्। उनले भने, ‘म सहमतिमा प्रधानमन्त्री बन्ने प्रयासमा छु। यसबारे सभापतिजीसँग निरन्तर छलफलमा छु।’

यद्यपि पौडेलले प्रधानमन्त्रीमा दाबी पेश गरिरहँदा कांग्रेसभित्र प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्नेछ। यसका लागि उनीसँग बहुमत सांसद छैनन्। यसपटक संसदीय दलको नेतामा प्रधानमन्त्री देउवा र महामन्त्री थापाबीच प्रतिष्पर्धा हुने देखिएको छ।

कांग्रेसले संसदीय दलको नेता चयनका लागि बुधबार बिहान निर्वाचन गर्ने भएको छ। पौडेलले बालुवाटारमा देउवालाई भेटेर आफूले प्रधानमन्त्रीमा समर्थन गर्ने र आफूलाई राष्ट्रपति बनाइदिन आग्रह गरेको स्रोतले जानकारी दियो। नेता केसीले पनि राष्ट्रपतिको दाबेदारका रूपमा आफूलाई उभ्याएका छन्। 

‘आकांक्षा सबैको हुन्छ। मेरो पनि छ। परिस्थितिले दियो भने यी चिज सम्हाल्न सक्छु,’ केसीले भने। 

समानुपातिकको सूचीबाट नाम काटिएका गोपालमान श्रेष्ठले पनि आफूलाई राष्ट्रपतिमा आकांक्षा राखेका छन्। कांग्रेस नेता मानबहादुर विकले पनि आफूलाई पहिलो दलित राष्ट्रपति बनाइदिन आग्रह गर्दै आइरहेका छन्। उनले प्रधानमन्त्री देउवासँग भेट गरेर राष्ट्रपतिमा आफ्नो आकांक्षा रहेको बताइसकेका छन्। 

राष्ट्रपतिमा नबस्ने बाबुरामको मनस्थिति, प्रचण्ड सकारात्मक

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा दाबी पेश नगर्ने भएका छन्। भट्टराईले अझै सक्रिय राजनीति गर्न बाँकी रहेकाले राष्ट्रपतिमा दाबी नगर्ने आफूनिकट नेताहरूसँग बताइसकेका छन्।

राष्ट्रपतिका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेको आरोप खेप्दै आइरहेका भट्टराईले समाजवादी पार्टी बनाउने अभियान चलाएको उनीनिकट स्रोतले जानकारी दियो। उनले संघीयता विरोधी दलहरूको उदय भइरहेको अवस्थामा आफू सेरेमोनियल राष्ट्रपति भएर नबस्ने निर्णय गरेका हुन्।

‘उहाँ अझै सक्रिय राजनीति गर्ने सोचमा हुनुहुन्छ। संघीयताविरोधी, धर्म निरपेक्षतासहितको राजतन्त्रको एजेण्डा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका दलका कारण उहाँ समाजवादी पार्टी बनाउने अभियानमा लाग्नुभएको छ। अहिले राष्ट्रपति बन्ने सोच उहाँमा छैन‚’ स्रोतले भन्यो।

यद्यपि अध्यक्ष प्रचण्डले भने माओवादी केन्द्रले राष्ट्रपति पाए बाबुरामलाई बनाउने मनस्थिति बनाएका छन्। सत्ता गठबन्धनभित्र राष्ट्रपति पाए बाबुरामलाई अघि सार्ने प्रचण्डको योजना छ। गोरखाबाट आफूलाई जिताउन योगदान गरेका भट्टराईलाई राष्ट्रपति बनाउने प्रचण्डको योजना छ।   

झलनाथ पनि राष्ट्रपतिको ‘लिगलिगे’ दौडमा 

राष्ट्रपतिको दौडमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि लागेका छन्। इलाम–१ बट पराजित भएका खनाल राष्ट्रपतिका लागि लबिइङमा रहेका छन्।

चुनावअघि राष्ट्रपतिको दौडमा नभएको दाबी गरेका उनले आफू चुनावमा पराजित भएपछि उक्त दौडमा लागेका हुन्। खनालले राष्ट्रपतिमा आफ्नो दाबी रहने बताए।

राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै उनले गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिमा दाबी रहने बताए। 

माओवादीबाट बहालवाला उपराष्ट्रपतिदेखि पूर्वसभामुखसम्म

नेकपा माओवादी केन्द्रबाट बहालवाला उपराष्ट्रपतिदेखि पूर्वउपसभामुखम्मले आकांक्षा राखेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले राष्ट्रपति बन्ने आकांक्षा देखाएका हुन्।

उनीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफ्नो आकांक्षा प्रकट गरेका छन्। तीनैजना नेता प्रचण्डका जनयुद्धदेखिका सहकर्मी हुन्। 

साथै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर राष्ट्रपति बन्ने मनस्थितिमा पुगेका छन्। सत्ता गठबन्धन नेतृत्वको सरकार निर्माणका लागि निर्णायक अवस्थामा रहेको लोसपाका अध्यक्ष ठाकुरले  पनि राष्ट्रपतिको आकांक्षा राखेको कुरा पछिल्लो समय बाहिर आइरहेको छ। 

क–कसले पाउँछन् राष्ट्रपतिका लागि मतदान गर्न?

संविधानको धारा ६२ अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशसभाका सांसदहरूले मतदान गर्न पाउने व्यवस्था रहेको छ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा गरी कुल ८ सय ८४ जना सांसद अर्थात मतदाता रहेका छन्। यसमध्ये केही सांसद फौजदारी अभियोग लागेका कारण निलम्बनमा पर्नेछन्।

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ जना गरी संघीय संसदमा कूल ३३३ जना सांसद रहेका छन्। राष्ट्रियसभाका खिमलाल भट्टराईले राजीनामा दिएका कारण एक पद खाली (त्यसकारण ५८ सदस्य) छ।

सातवटा प्रदेशमा ५५० जना सांसद रहेका छन्। तीमध्ये संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ।

संविधानको धारा ६२ को ३ अनुसार कुल मतको बहुमत अर्थात २६ हजार ३६९ भन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ। यसआधारमा सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिका लागि सहज हुनेछ। 

आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी सरकारलाई दिनु पर्नेछ।

दफा (२) को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा सङ्घीय संसद र प्रदेशसभाको गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी सरकारलाई दिनु पर्नेछ। दफा (३) को उपदफा (१) र (२) बमोजिम राष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

कसको मतभार कति?

संघीय संसद् र प्रदेश संसद्‍मा रहेका ८ सय ८४ जना मतदातामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदको कूल मत २९ हजार ७२४ रहेको छ।

जसअनुसार कांग्रेस १६ हजार २६९, माओवादी केन्द्रसँग ७ हजार ६४९, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३ र राष्ट्रिय जनमोर्चासँग २०६ मत रहेको छ। 

साथै नेकपा एमालेसँग १५ हजार १५४, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५, नेमकिपासँग २२३, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा निर्वाचित स्वतन्त्र १८ उम्मेदवारको कुल मत १ हजार ५० छ। राष्ट्रपतिबाट मनोनीत ३ जना सांसद विमला राई पौड्याल, नारायण दाहाल र वामदेव गौतम रहेका छन्। उनीहरूको मत २३७ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.