|

बनेपा : पूर्व ऊर्जा राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले मुलुकमा कम्युनिष्ट व्यवस्था नआएसम्म सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण नहुने दाबी गरेका छन्।

मंगलवार काभ्रेको महाभारत गापा–१ स्थित गोकुले माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दोङले भने, ‘यो मुलुकमा कम्युनिष्टको व्यवस्था नआएसम्म सबै समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण असम्भव छ। त्यसका लागि मुलुकमा कम्युनिष्ट व्यवस्था आउनुपर्छ, यसमा तपाईं (शिक्षक, विद्यार्थी र स्थानीय)हरू विश्वस्त हुनुहुन्छ भन्ने मलाई लागेको छ।’

उनले निर्वाचनपछि धन्यवाद दिनुअघि जनताले मल, सडक आदिमा झेल्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायमा गएकाले केही ढिलाइ हुन पुगेको बताए।

जनयुद्ध हुँदै शान्ति प्रक्रियापछि संविधानसभा निर्माणसँगै संघीयता लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने लगायतका जुनसुकै दृष्टिकोणले डाँडापारिका जनता, बुद्धिजीवी, शिक्षक र विद्यार्थीले खेलेको भूमिका अनुकरणीय रहेको बताए।

शिक्षामा हुने विभेद ढिलोचाँडो अन्त्य गरिछाड्ने उनले दाबी गरे। उनले सरकारी र निजी विद्यालयबीचको खाडल अन्त्य नभएसम्म शिक्षाको विभेद नहट्ने प्रष्ट पारे।  उनले सरकारी र निजी विद्यालयबीच प्रमाणपत्रको हिसाबले अगल नभएको तर व्यवस्थापनको हिसाबले शिक्षा सस्तो र महँगो भएको बताए।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले महाभारतको सवालमा भौतिक पूर्वाधारको हिसाबले आफ्नो पहलले भएसम्मको बजेट छुट्याएको बताए। उनले भने, ‘यो क्षेत्रको संसद्सँगै बागमती प्रदेशका मन्त्रीको हुँदै गर्दा मैले  विद्यालय, अस्पताल, सडक लगायतमा सकेजति बजेट विनियोजन गरेको छु।’

कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, स्थानीय अभिभावक लगायत उपस्थित थिए। कार्यक्रममा मन्त्री दोङले विद्यार्थीलाई झोला वितरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.