|

चन्द्रौटा : सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश जारी गर्न माग गर्दै कपिलवस्तुका थारु समुदाय सडकमा उत्रिएका छन्। थारु कल्याणकारी सभा,थरुहट संघर्ष समिति कपिलवस्तुको आयोजनामा मंगलबार चन्द्रौटा बजारमा र्‍यालीसहित कोणसभा गरेको छ।

‘टीकापुर राजबन्दीको मुद्दा तुरुन्त फिर्ता गर’, ‘क्षमा होइन न्याय चाहिन्छ’, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर’, ‘मानवताको अधिकार हाम्रो पनि बराबर’ लगायतको प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले तुरुन्तै जारी गर्न माग गरिन्। देश र जनताको काम गर्दा राज्य सत्ताले दम्भको आधारमा केही व्यक्तिलाई फसाएको भन्दै अध्यादेशमार्फत उनीहरूलाई रिहा गर्नुपर्ने बताइन्।

थारु कल्याणकारी सभाका अध्यक्ष उमाशंकर थारुले अध्यादेश जारी नगरे थप आन्दोलन गर्ने चेतावनी दिए। टीकापुरमा विभिन्न तत्वको घुसपैठले घटना भएको बताउँदै त्यस्ता खालका घटना दोहोरिन नहुने बताए।

यता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि अध्यादेश जारी गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको छ। मंगलबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको हो। सडकमा उत्रिएका नेकपाका कार्यकर्तालाई प्रहरीले धरपकडसमेत भएको थियो।

सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित राष्ट्रपतिसमक्ष पेश भएको अध्यादेश जारी गर्नुपर्ने नेतृ सुष्मा सिंहले बताए। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ लाई संशोधन गर्न अध्यादेश ल्याएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.