|

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा रहेको बताएका छन्।

पर्वतको कुश्मा नपा–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयहरू पढाउन सक्नेलाई भन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताएका हुन्।

विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेहरूलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

‘विद्यालयमा पढाउन जान्नेलाई जागिर खुवाउने हो। यो रोजगार दिने थलो होइन। पढाउन जान्ने ल्याउने हो। कुन दलको मान्छे भनेर ल्याउने होइन। पार्टी चाहिएको छ, झण्डा बोक्ने मान्छे चाहिएको छ। पढाउन मतलब छैन। अनि कहाँबाट रिजल्ट राम्रो हुन्छ?’, उनले भने, ‘विद्यालयका लागि कति समय दिनुभएको छ? शिक्षकहरूले पनि त्यो कुरा आत्मसमीक्षा गर्नुपर्छ। मैले पढाएको विद्यार्थी कमजोर भयो कि भनेर सोच्ने काम शिक्षकको हुन्छ। वातावरण बनाउने काम अभिभावकको हुन्छ। विद्यालयलाई राजनीतिको अखडा बनाउने, पढाउन जानोस् नजानोस् आफ्नो मान्छेलाई जागिर खुवाउँछु भन्ने छ।’

विद्यालय व्यवस्थापन समितिमा आउन हानथाप हुनुको कारण पनि आफन्तलाई जागिर खुवाउन र सरुवा गर्नको लागि भएको अध्यक्ष तिमिल्सिनाको तर्क छ। राम्रोभन्दा हाम्रो मान्छे खोज्ने चलनकै कारण बालबालिकाले गुणस्तरीय शिक्षा पाउन नसकेको उनले बताए। आफ्नो मान्छे ल्याउनैपर्ने भए पहिले राम्रो मान्छे खोजेर ल्याएपछि उसलाई नै आफ्नो मान्छे बनाउन सकिने तिमिल्सिनाको सुझाव छ।

‘समितिमा आउन हानथाप हुन्छ। केका लागि? आफ्नो मान्छेलाई जागिर खुवाउन र सरुवा गरेर ल्याउनका लागि। यहाँ त राम्रो भए पनि अर्को हो भनेपछि हुँदैन’, उनले भने, ‘अनि बालबच्चाले कहाँबाट राम्रो पढ्छ? यस कारण भोलिका दिनमा तपाईँ हामी सबैले सरकारी विद्यालयमा त्यो प्रतिबद्धता गरौँ कि राज्यको यति धेरै लगानी भएको ठाउँमा किन विद्यार्थी पढ्न आएनन्? प्रतिस्पर्धी किन बनेनन्? सबै मिलेर यिनै कमजोरी हटाऔँ। आवश्यक ठाउँमा योग्य शिक्षक नियुक्त गरौँ। राजनीतिक हिसाबले आग्रह नराखौँ। राजनीतिमा होइन पढाइ र गुणस्तरमा प्रतिस्पर्धा गरौँ।’

सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने आफ्नै सन्तानलाई घरबाटै शुरु हुने विभेदले पनि समस्या भइरहेको उनको भनाइ छ। अभिभावकहरूले सबै सन्तानलाई बरोबर देख्नुपर्ने भए पनि कतिपयले सामुदायिक र निजीमा पढाउने गरेको र त्यसमा पनि निजीमा अध्ययन गर्नेलाई बढी ध्यान दिने गरेको बताए।

निजी विद्यालयमा जानेलाई सरसफाइदेखि पोशाक, खाजा, गृहकार्य, स्टेशनरी, अतिरिक्त कक्षा लगायतको व्यवस्थापन गरे पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने अर्को बच्चाका ती पक्षमा ध्यान नदिएकोमा उनले असन्तुष्टि पोखे।

 
देश विकासका लागि शिक्षा आवश्यक : कतारी राजदूत हाल

अध्यक्ष तिमिल्सिनासँगै सोही कार्यक्रममा पुगेका नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलि हालले देशको विकासका लागि चाहिने राम्रो पक्ष भनेको नै शिक्षा भएको बताएका छन्।

सरकार र अभिभावकहरूले आफ्ना बच्चाहरूका लागि लगानी गर्न सके मात्रै देशको भविष्य राम्रो हुने उनको सुझाव छ।

‘यी बच्चा नै देशका भविष्य हुन्। उनीहरूमाथि गरिएको लगानीले देश राम्रो बन्छ। आज म यहाँ किन आएको छु भने हामी यहाँ शैक्षिक विकासका लागि केही सहयोग गर्न चाहेका छौँ’, उनले भने, ‘त्यसका लागि तपाईँहरूसँग कुनै उपाय भए मेरो कार्यालयमा जानकारी गराउनुहोला। म सहयोगका लागि तयार छु।’

उनले आफ्नो देश कतारको विकासका लागि लाखौँ नेपाली कामदारले गरेको मेहनतको प्रशंसा गरे।

‘मेरो देश कतारमा अहिले पनि लाखौँ व्यक्ति कामका लागि जानुभएको छ। उहाँहरूले मेरो देशको विकासमा योगदान गर्नुभएको छ’, हालले भने, ‘त्यसका लागि म नेपाल र यहाँका नागरिकप्रति आभारी छु। मेरो देशका लागि यहाँका लाखौँ कामदारले योगदान दिनुभएको छ।’


                                                                        कतारका राजदूत युसुफ बिन मोहम्मद अलि हाल।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.