१५ दिनभित्र आफ्नै देश फर्काउनू

|
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।​

न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए। 

कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्लाको फैसला सदर गरेको थियो।

२०७४ चैत ८ मा भक्तपुर जिल्ला अदालतले २०८० असोज १ सम्म कैदमा राख्नेगरी संशोधित कैदीपूर्जी दिए पनि उनले १९ वर्ष अर्थात ९५ प्रतिशत कैद भुक्तानी गरिसकेका छन्।

उनी उमेरले ७४ वर्ष भइसकेको र मुटुसम्बन्धी रोगबाट पीडित भएको भन्दै बाँकी कैद मिनाहा गरी तत्काल थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो।

‘...यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीतको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखीराख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन। बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ।’ आदेशमा भनिएको छ,‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत यो आदेश जारी गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.