|

पर्वत : पोखरा महानगरपालिकाको बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्यौटको व्यवस्था मिलाई सोको प्रगति विवरण लेखा समितिको बैठकमा पेश गर्न निर्देशन दिइएको छ।

महानगर लेखा समितिको नवौँ बैठकले बेरुजुलाई सुशासनको नकारात्मक सूचकको रूपमा समेत लिइने हुँदा महानगरपालिकाको बेरुजु अत्यधिक बढ्दै गइरहेकोले र फर्छ्यौटको सुस्त रहेकाले आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्य योजना बनाई शीघ्र फर्छ्यौटको व्यवस्था मिलाउन तथा प्रगति विवरण समितिमा पेश गर्नमहानगर कार्यपालिकालाई निर्देशन दिएको छ।

बैठकले सङ्घीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको‚ कामको प्रयोजनसमेत नखुलेको दुवै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्लाबाहिर विशेष कामकाजमा खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा वस्तुनिष्ठ र मितव्ययी तरिकाले काजमा खटाउन कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

समितिले महानगरका कर्मचारीहरूलाई आवाससम्बन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्थाबिनै घरभाडामा ठूलो रकम खर्च हुने गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौँ बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए।

उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगीजस्ता पदमा बाहेक अन्य पदहरूमा कर्मचारी राख्न नपाउने व्यवस्था भए पनि अन्य पदहरूमा समेत करारमा कर्मचारी भर्ना गरिरहेको अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भए लोकसेवा आयोगसँग माग गर्ने कानुनी व्यवस्था पालना गर्न निर्देशन दिएको छ।

बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुँदाहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइनउपर निगरानी, जाँच गरी स्वीकृति गर्ने अवस्था भए पनि महानगरको आफ्नै  भवनको डिजाइन बनाउनसमेत बाहिरबाट परामर्श सेवाका नाममा लाखौँ रकम खर्च गरेको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले बताए।

कार्यपालिका बैठक, तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुँदाहुँदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च भएको देखिएकाले त्यसबाट नागरिकमा आफूले तिरेको राजश्वको दुरुपयोगको बढ्दो टिप्पणी एवं चिन्ता व्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभूति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ।

लेखा समितिले भाटभटेनी, पानी पँधेरो, मणिपाल लगायतका निजी हस्पिटलहरू, सेलवेज, ट्रेड मल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट वाराही, ग्राण्ड, हिमालयन ग्लोरी, साङ्ग्रिला लगायत सपिङ मल‚ होटल र मदरल्याण्ड, कुमुदिनी होम्स, सेन्ट मेरिजजस्ता निजी विद्यालय समेतका ठूला करदाताहरूको करसम्बन्धी लगत राख्ने, व्यवसाय दर्ता, बक्यौताको विवरण तयार गरी असुली गर्न निर्देशन दिएको छ।

समितिले कर बढाउन करदाता शिक्षा, कर सङ्कलन र व्यवसाय दर्ता अभियान सञ्चालन गर्नसमेत निर्देशन दिएको लेखा समितिका सदस्य सचिव रोमनाथ उपाध्याय बताउँछन्।

लेखा समितिले महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र आर्थिक विकास महाशाखा मनहर कडरियालाई कार्यालयमा बोलाई शैक्षिक क्षेत्र र कृषिबारे जानकारी लिएको छ।

लेखा समितिका सभापति झपट रानाभाट, सदस्य बलराम पौडेल, विष्णुमणि बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा रहेको बेथिति सुधार गर्न कार्य योजना बनाएर ल्याउन विशेष निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.